वीरगन्ज-
पर्साको वीरगन्ज महानगरपालिका–३२ मा अवस्थित नारायणी स्टील उद्योगमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
बाराको जितपुरसिमरा–१४ घर भएका २२ वर्षीय उपेन्द्र चौधरी वेल्डिङ सेक्सनमा रात्रिकालीन सिफ्टमा काम गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरीलाई करेन्ट लागेको करिब दुई घण्टापछि अस्पताल लगिएको र राति ३ बजे वीरगन्जस्थित नारायणी अस्पतालले मृत घोषणा गरेको पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
मृतकका आफन्त र मजदुर संगठनहरूले उद्योगमा काम गर्ने सुरक्षित वातावरण नहुँदा दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूले परिवारलाई उचित क्षतिपूर्ति र घटनाको छानबिन गर्न माग गरेका छन्।
अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सिनाले क्याल ग्रुपले सञ्चालन गरेका उद्योगहरूमा मजदुर अधिकारको गम्भीर उल्लंघन भइरहेको आरोप लगाए। उनका अनुसार नारायणी स्टीलमा ठेकेदारमार्फत मजदुर भर्ना गरिने र प्रचलित कानुनअनुसारको सुविधा नदिइएको अवस्था छ।
“संविधानले मजदुरलाई ट्रेड युनियन खोल्ने, सम्मानजनक श्रम र सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अधिकार दिएको छ। तर उद्योगमा कुनै पनि सुविधा दिइएको छैन,” तिमिल्सिनाले बताए। उनले अनुगमनसमेत रोक्ने, मजदुरलाई कैदीजस्तो व्यवहार गर्ने र पर्याप्त सुरक्षा सामग्री उपलब्ध नगराउने आरोप पनि लगाए।
यता, क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्यालले दुर्घटनाको पुष्टि गर्दै मृतक उद्योगको नियमित मजदुर नभए पनि दुर्घटना बीमाअनुसार नेपाल सरकारले तोकेको क्षतिपूर्ति दिइने आश्वासन दिएका छन्। उनले उद्योगमा सुरक्षा उपाय अपनाइएको दाबी गर्दै दक्ष जनशक्ति नहुँदा यस्ता घटना हुने गरेको तर्क गरे।
अध्यक्ष तिमिल्सिनाले भने संविधान र कानुनले तोकेको व्यवस्था कार्यान्वयन नगरे नारायणी स्टील उद्योगविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। “पीडित परिवारलाई क्षतिपूर्ति र सदस्यलाई नियमित पेन्सनको व्यवस्था गर्नुपर्छ, नभए कानुनी बाटो अपनाइन्छ,” उनले भने।