२०८२ भाद्र ४ गते, बुधबार १७:४४

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

वीरगन्जमा आयोजित जिल्लाको विस्तारित बैठकका क्रममा राप्रपाका सांसद तथा कार्यसम्पादन समिति सदस्य दीपकबहादुर सिंहले सुवेदीलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्। लामो समयदेखि तत्कालीन राप्रपा नेपालमा सक्रिय रहेका सुवेदी पछिल्ला वर्षहरूमा पार्टीगत रूपमा निष्क्रिय रहेका थिए।

पार्टी प्रवेशपछि सुवेदीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आवश्यकता औंल्याउँदै राप्रपालाई सबल बनाउन सबै राष्ट्रवादी शक्तिहरू एकत्रित हुनुपर्ने बताए। उनले भने, “छिन्नभिन्न भएका देशभक्त राष्ट्रवादीहरू अलग-अलग भएर हुँदैनन्, राप्रपालाई सबल, सक्षम र अग्रणी शक्तिको रूपमा स्थापित गर्नुपर्छ।”

कार्यक्रममा सहभागी सांसद सिंहले सुवेदीको प्रवेशले पर्सामा राप्रपा अझ सबल हुने विश्वास व्यक्त गरे।

यसैबीच, विस्तारित बैठकले पर्साका सबै स्थानीय तहमा पार्टी संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा नयाँ कमिटी गठन गर्ने, निष्क्रिय कमिटीलाई सक्रिय बनाउने तथा स्थानीय तहदेखि जिल्लास्तरको अधिवेशन समयमै गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस