२०८२ भाद्र ५ गते, बिहीबार १७:३३

काठमाडौं –

नेकपा (एमाले) का सांसद किरणकुमार शाहले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले मन्त्री चौरसीयाको राजीनामा माग गर्नुभएको हो । उहाँले पूर्वमन्त्री मोहम्मद अफतवब आलमल सफाई प्रकरणमा मन्त्री चौरसियाले न्यायसम्पादनमा हस्तक्षेपकारी भुमिकामा खेलेको आरोप समेत लगाउनु भयो । उहाँले पूर्वमन्त्री आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको प्रकरणलाई लिएर देशभर न्यायपालिकाको विश्वसनीयता र सरकारको नैतिकतामाथि प्रश्न उठेको बताउनु भयो । एक जना मन्त्रीकै कारण न्यायपालिकामाथि शंका उत्पन्न हुनु लोकतन्त्रकै लागि खतरा भएको उहाँको भनाइ छ ।

संविधान र कानूनको कार्यान्वयन र संरक्षण गर्ने जिम्मेवारी लिएको मन्त्री नै हस्तक्षेपकारी भूमिकामा देखिनु आपत्तिजनक रहेको भन्दै उहाँको कल विवरणको छानविन गर्न समेत माग गर्नुभयो । संविधान सभा निर्वाचनका बेला २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम घरमा बम विस्फोट हुँदा भएको मृत्यु प्रकरणमा उहाँले सफाई पाउनु भएको थियो । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई गत जेठ १४ गते सफाई दिनुभएको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस