वीरगन्ज –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन्।
शनिबार वीरगन्जको कन्ट्री इन होटलमा पर्सा जिल्ला समितिले आयोजना गरेको निर्वाचन क्षेत्र पुनर्गठन तथा पदपूर्ति कार्यक्रममा पोखरिया निबासी कुर्मीलाई सर्वसम्मत चयन गरिएको हो।
लामो समय शिक्षण पेशामा संलग्न कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए। एक वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तको पहलमा उनी पार्टीमा प्रवेश गरेका थिए।
सोही कार्यक्रममा उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा राकेश गुप्ता तथा तीन जना क्षेत्रीय सदस्यसहित सात सदस्यीय समिति गठन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा जिल्ला सभापति हरि पन्तले क्षेत्रीय समिति पार्टीको मेरुदण्ड भएको उल्लेख गर्दै क्षेत्र विस्तारसँगै जिल्लामा संगठन अझै मजबुत हुने बताए। उनका अनुसार पर्सामा तीन क्षेत्रीय समिति गठन भइसकेको र आउँदो भदौ ७ गते शनिबार ठोरीमा हुने भेलाबाट चौथो क्षेत्रीय समिति गठन गरिनेछ।
आजको भेलामा जिल्ला सभापति पन्तको सभापतित्वमा केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुर्शोतम देव, प्रमोद सहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मीलगायतको उपस्थिति रहेको थियो।