वीरगन्ज-
वीरगन्ज महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षा शुक्रबार सम्पन्न गरेको छ । संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई अवसर उपलब्ध गराउन महानगरले चारवटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरेको हो ।
यस वर्ष कक्षा ९ र ११ मा भर्ना हुन २ हजार ३ सय १ जनाले अनलाइन फाराम भरेका थिए । तर, करिब २ सय ६८ जना विद्यार्थी अनुपस्थित रहे । बिहान साढे ७ बजे सुरु भई डेढ घण्टा सम्म सञ्चालन भएको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको महानगरको शिक्षा महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।
महानगरले हरेक वर्ष कक्षा ९ र ११ का लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यस अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले क्रमशः कक्षा १० र १२ सम्म सुविधा पाउने व्यवस्था गरिएको छ । यस वर्ष कक्षा ९ का लागि ८० र कक्षा ११ का लागि ३८ संस्थागत विद्यालयमा छात्रवृत्तिको कोटा छुट्याइएको छ । विद्यालयको विद्यार्थी संख्याको १० प्रतिशत बराबर छात्रवृत्ति सिफारिस गर्नुपर्ने नियमअनुसार नतिजा आएपछि सफल विद्यार्थीलाई क्लस्टरअनुसार विद्यालयमा पठाइने महानगरका उपप्रमुख इम्तियाज आलमले बताउनुभयो ।
महानगरले केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनपछि छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई सम्बन्धित विद्यालयमा पठाउने प्रशासनिक प्रक्रिया अघि बढाइनेछ ।
छात्रवृत्तिको सिफारिस गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका र वीरगन्ज महानगरपालिकाका स्थायी बासिन्दालाई प्राथमिकता दिइनेछ । साथै महिला, दलित, आदिवासी–जनजाति, अपाङ्गता भएका व्यक्ति, शहीद तथा बेपत्ता परिवारका बालबालिका र मधेश आन्दोलनका घाइतेका बालबालिकाका लागि छुट्टै आरक्षण कोटा राखिएको छ ।
प्रश्नपत्र तयार पार्नेदेखि उत्तरपुस्तिका व्यवस्थापनसम्मका सबै प्रक्रिया पारदर्शी ढंगले गरिएको महानगरको दाबी छ ।