वीरगन्ज-
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहिवार करिब ४ः२० बजे वीरगन्ज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडक खण्डमा भारतीय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका दुईवटा मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलमा फल्स सिलिङ बनाइ लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणको रकम फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकममध्ये नेपाली हजार दरका १,००० थान नगद १० लाख रुपैयाँ र पाँच सय दरका ८२७ थान नगद ४ लाख १३ हजार ५ सय रुपैयाँ गरी जम्मा १४ लाख १३ हजार ५ सय रुपैयाँ भेटिएको हो ।
उक्त मोटरसाइकलमा सवार पर्सा, वीरगन्ज–२ घुसुकपुरका ३९ वर्षीय संजय कुमार साह र बारा, महागढीमाई–४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) बमोजिम “हुण्डी कारोबार गर्न नहुने” कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।