वीरगन्ज-
विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज नगर कार्यसमितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा इस्लामिक आतंकवादी संगठन हमासद्वारा अपहरणमा परेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको तत्काल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत जोशी सम्पर्कविहीन भएका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको घटना सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको थियो । जोशीको लामो समयदेखि अवस्था अज्ञात रहेको र उनकी आमा र बहिनी इजरायलमा उनको खोजीमा भौतारिरहेका कारुणिक अवस्थाले नेपाली जनमानसमा गहिरो पीडा र चिन्ता उत्पन्न गरेको परिषद्ले उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा परिषद्ले विपिन जोशीको रिहाइका लागि तत्काल अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल गर्न, संयुक्त राष्ट्रसंघ, इजरायली सरकार र सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरी उनलाई सुरक्षित नेपाल फर्काउने वातावरण बनाउन माग गरेको छ । साथै, विदेशमा रहेका नेपाली नागरिकको दीर्घकालीन सुरक्षाका लागि ठोस राष्ट्रिय नीति र कार्य योजना बनाउन, आतङ्कवादी समूहहरूसँग प्रत्यक्ष वार्ता गर्न र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न विशेष दूत नियुक्त गर्न पनि सरकारसँग अनुरोध गरिएको छ ।
परिषद्ले हालै काठमाडौँको माइतीघर मण्डलामा स्वतःस्फूर्त रूपमा जम्मा भएका सयौँ नेपालीले हस्ताक्षर सङ्कलन गरी विपिनको रिहाइको माग गरेको स्मरण गराउँदै यो विषयमा जनताको गहिरो संवेदनशीलता र सरकारप्रति उच्च अपेक्षा रहेको बताएको छ । “नेपाल सरकारको दृढ, संवेदनशील र प्रभावकारी पहलले मात्र एक नेपाली आमाको आँसु पुछिनेछ र सम्पूर्ण राष्ट्रले राहतको सास फेर्न सक्नेछ,” ज्ञापन पत्रमा उल्लेख छ ।
यसअघि पनि नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि कतार, इजिप्ट र इरानजस्ता देशहरूसँग कूटनीतिक पहल गरेको समाचारहरू आएका छन् । तर, जोशीको अवस्था अझै अज्ञात रहेको र हालैका बन्दी रिहाइको सूचीमा उनको नाम नपरेकोले परिवार र समुदायमा निराशा छाएको छ ।
विश्व हिन्दु परिषद् नेपालले सरकारलाई मानवीय सङ्कटप्रति तत्काल र प्रभावकारी कदम चाल्न हार्दिक अपिल गरेको छ ।