वीरगन्ज-
वीरगन्ज महानगरपालिकाले बढ्दो हैजाको सङ्क्रमणलाई ध्यानमा राख्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाअन्तर्गत शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै भदौ ८ र ९ गते (आइतबार र सोमबार) महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गर्ने जानकारी दिएको हो।
सूचनामा नागरिकलाई हैजा सङ्क्रमणबाट बच्न आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ। पानी उमालेर मात्र पिउन, शौचालय प्रयोगपछि साबुन–पानीले हात धुन, सरसफाइका नियमहरू पालना गर्न, काँचो सागसब्जी तातोपानीले पखालेर मात्र खान र अन्य सावधानी अपनाउन अनुरोध गरिएको छ।
महानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय हैजाको जोखिम बढ्दै गएको र संक्रमण फैलिन नदिनका लागि गरिएको जनाएको छ। हालै वीरगञ्जका विभिन्न वडाहरूमा हैजा सङ्क्रमण पुष्टि भएपछि सतर्कता स्वरूप यो कदम चालिएको हो।