२०८२ भाद्र ९ गते, सोमबार १४:१४

वीरगन्ज –
पर्सामा फैलिँदै गएको झाडा पखाला तथा हैजा (कोलेरा) को रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक बसेको छ।

शनिबार जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक तथा कार्यवाहक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले तत्काल प्रभावकारी रूपमा लागू गर्ने गरी ६ बुँदे निर्णय गरेको हो।

बैठकले झाडा पखाला नियन्त्रणका लागि व्यापक जनचेतनामूलक घरदैलो कार्यक्रम सञ्चालन गर्ने, सबै अस्पताललाई बिरामीलाई पहिलो प्राथमिकतामा उपचार गर्ने व्यवस्था मिलाउने र आवश्यकता परे थप शैयादेखि स्वास्थ्यकर्मी परिचालनसम्मका तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

त्यस्तै, स्वास्थ्य कार्यालय पर्साले पर्याप्त औषधि र परीक्षण किट उपलब्ध गराउने, वीरगञ्ज महानगरपालिकालाई सरसफाइ प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका र सरोकारवालाको समूहलाई परिचालन गर्न अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, रेडक्रस, गैरसरकारी संस्था, सञ्चार माध्यम र दातृ संस्थासँग समन्वय गरी आवश्यक सामग्री व्यवस्थापन र सचेतना अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

साथै, समितिको अर्को बैठक भोलि (भदौ ८ गते) दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने पनि निर्णय गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस