२०८२ भाद्र ९ गते, सोमबार १४:१६

वीरगन्ज-
वीरगन्जमा हैजा समुदायस्तरमै फैलिएको पुष्टि भएपछि महानगरपालिका आपतकालीन अभियानसहित रोकथाम र नियन्त्रणमा जुटेको छ।

शुक्रबार राति मुर्ली टोल (वडा नं. १२) का बासिन्दामा हैजाको संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा संक्रमण वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ।

यसबीच शनिबार महानगरपालिकाले शहरका अस्पताल सञ्चालकहरूसँग बैठक गर्दै संक्रमण नियन्त्रणका लागि थप सतर्कता अपनाउन आग्रह गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले प्रभावित वडाका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्न निर्देशन दिँदै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन जोड दिनुभयो।

महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई तत्काल संक्रमित क्षेत्रमा परिचालन गरेको छ भने आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स र अन्य सवारीसाधन स्ट्यान्डबाइमा राखिएको छ। हाल वडा नं. १ देखि १६ सम्मलाई बढी जोखिमयुक्त क्षेत्र मानिएको छ, जहाँ घर–घरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ।

संक्रमण नियन्त्रणलाई सहज बनाउन महानगरले हेल्पडेस्क र सूचना केन्द्र समेत स्थापना गरेको छ। यसमार्फत नागरिकलाई हैजासम्बन्धी जानकारी, उपचारका लागि आवश्यक समन्वय र आपतकालीन सम्पर्क सुविधा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।

विशेष गरी मुर्ली टोलमा करिब ३० जना स्थानीयलाई झाडापखालाको लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो। परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको नारायणी अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। अहिले नारायणी अस्पताल, वीरगञ्ज हेल्थकेयर, तराई अस्पताललगायत स्वास्थ्य संस्थाहरूमा झाडापखालाका बिरामीहरूको चाप बढ्दो छ। शनिबारसम्म झाडापखालाकै कारण तीन जनाको मृत्यु भएको पुष्टि भए पनि ती मृत्यु हैजाकै कारण भएको वा नभएको प्राविधिक पुष्टि भने हुन बाँकी छ।

विशेषज्ञहरूले दूषित पानी र खाना सेवनबाट हैजा फैलिने बताउँदै सरसफाइमा विशेष ध्यान दिन सुझाव दिएका छन्। हाल वीरगन्जका विभिन्न बस्तीमा ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ। यसैले महानगरले खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, सफा खानेपानी प्रयोग गर्ने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस