वीरगन्ज-
पर्सामा फैलिएको झाडापखाला र हैजाको जोखिमलाई नियन्त्रण गर्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठक बसेको छ । मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहको विशेष उपस्थितिमा र जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा बसेको समितिले ६ बुँदे निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयहरू यसप्रकार छन् :
१. सघन सचेतना अभियान
सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, मिडिया तथा विभिन्न दातृ संस्थाको सहकार्यमा घरदैलो, माइकिङ र सचेतना कार्यक्रम तत्काल सघन रुपमा सञ्चालन गर्ने ।
२. स्वास्थ्यकर्मीको व्यवस्थापन
महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन सक्ने देखिएकाले स्वास्थ्य कर्मचारीलाई अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने र आवश्यकता अनुसार जिल्लास्थित स्थानीय तहका स्वास्थ्यकर्मीलाई तोकिएका स्वास्थ्य संस्थामा खटाउने ।
३. औषधि र सामाग्री सुनिश्चितता
औषधि, किट तथा खानेपानी शुद्धिकरणका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन स्वास्थ्य कार्यालय, पर्साले पहल गर्ने र यसका लागि प्रदेश सरकार तथा संघीय स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने ।
४. फोकल पर्सन तोक्ने निर्णय
महामारी नियन्त्रणका लागि समिति मातहत सूचना संप्रेषण गर्ने छुट्टै फोकल पर्सन तोक्ने व्यवस्था मिलाउने ।
५. स्रोत साधनको वितरण
नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति र स्रोत साधनलाई जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन र अनुगमन गर्ने ।
६. महामारी अनुसन्धान
महामारी नियन्त्रण तथा अध्ययन अनुसन्धान सम्बन्धित स्थानीय तहले गर्ने र त्यसका लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय स्वास्थ्य मन्त्रालयले गर्ने ।
बैठकले सर्वपक्षीय सहकार्य, स्रोत साधनको परिचालन र सचेतना कार्यक्रमलाई प्राथमिकता दिएर महामारी नियन्त्रणमा जुट्ने निष्कर्ष निकालेको छ ।