२०८२ भाद्र ९ गते, सोमबार १८:२६

वीरगन्ज —

वीरगन्जमहानगर र आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणका लागि गौर, रौतहटस्थित प्रादेशिक अस्पतालबाट पाँच सदस्यीय स्वास्थ्यकर्मी टोली वीरगन्ज आइपुगेको छ ।

टोलीमा दुई जना चिकित्सक र तीन जना स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) रहेका छन् । प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार, वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेपछि तत्काल स्वास्थ्य सहयोग पु¥याउने उद्देश्यले टोली पठाइएको हो ।

“चिकित्सक डा. परशुराम यादव र डा. विष्णुकुमार साहको नेतृत्वमा टोली नारायणी अस्पताल वीरगन्जमा खटिएको छ,” अध्यक्ष हासमीले बताए, “उनीहरूले स्थानीय अस्पताल र स्वास्थ्य संस्थासँग समन्वय गर्दै संक्रमितहरूको उपचारमा प्रत्यक्ष सहयोग गर्नेछन् ।”

संक्रमितको संख्या बढ्दो

स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म वीरगन्जमा ७९ जनामा हैजाको पुष्टि भइसकेको छ । यस्तै, झाडापखालाजस्ता लक्षण देखिएका १०३ जना बिरामी विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

संक्रमण तीव्र रूपमा फैलिन थालेपछि नारायणी अस्पताललगायत निजी अस्पतालहरूमा पनि बिरामीको चाप बढिरहेको छ । उपचारका लागि आवश्यक जनशक्ति र स्रोत–साधन व्यवस्थापन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै, वीरगन्ज महानगरपालिका, स्वास्थ्य मन्त्रालय र विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा प्रभावित क्षेत्रमा घरदैलो जनचेतना अभियान, सुरक्षित पानी आपूर्तिका लागि ‘पियुष’ वितरण तथा दूषित पाइपलाइन मर्मतसम्भार जस्ता गतिविधि भइरहेका छन् ।

गौरबाट आएको चिकित्सक टोलीले संक्रमित क्षेत्रको अवलोकन, बिरामीको उपचार र महामारी नियन्त्रणमा प्रत्यक्ष सहयोग गर्ने महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस