वीरगन्ज —
‘चलचित्र मनोरञ्जनको केन्द्र’ मानिने एसकाई मलस्थित क्युएफएक्स (QFX) सिनेमा हलमा सेवाग्राहीसँग मनपरी गरेको आरोप लागेको छ। हल व्यवस्थापनले भारतीय नोटलाई सरकारले तोकेको नियमित विनिमय दर १.६० को सट्टा १.५० मा मात्रै स्वीकार्ने र त्यसबाहेक भारतीय नोट नै नचल्ने भन्दै सेवाग्राहीलाई अपमानजनक व्यवहार गरेको पीडितले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।
वीरगन्जका रबि क्यालले आफ्नो फेसबुकमा लेख्दै व्यवस्थापनको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले भनेका छन् “आज म सिनेमा हेर्न गएँ। २ बोतल पानी र आलु चिप्सको बिल २६० रुपैयाँ नेपाली आयो। अनलाइन भुक्तानी अस्वीकार गरेर क्यास मागियो। मैले १५० रुपैयाँ भारतीय र २० रुपैयाँ नेपाली नगद दिएँ, तर व्यवस्थापनले १.६० को सट्टा १.५० मा मात्र रूपान्तरण गर्ने अडान राख्यो। आपत्ति गर्दा त भारतीय नोट नै स्वीकार्य छैन भनियो।”
उनका अनुसार, एक शो हेर्नमै उनले करिब ४ हजार रुपैयाँ खर्च गरेका थिए तर सानो परिमाणको बिल तिर्नै व्यवस्थापनले ग्राहकलाई असहज बनाएको हो।
“नेपाल सरकार आफैले १०० रुपैयाँ दरको भारतीय नोटलाई आधिकारिक रूपमा स्वीकार गरेको छ। तर QFX जस्तो ठुलो संस्था नै आफ्नै नियम बनाएर ग्राहकलाई ब्ल्याकमेल गर्न खोज्नु अत्यन्त निन्दनीय र अस्वीकार्य हो,” उनले लेखेका छन्।
ग्राहकहरूले मनोरञ्जनका लागि ठूलो खर्च गर्ने हलमा यस्ता मनपरी र अपमानजनक व्यवहार हुनु सेवाग्राहीमाथिको धृष्टता र कानुनको अवहेलना भएको भन्दै व्यवस्थापनविरुद्ध कारबाहीको माग उठेको छ।