२०८२ भाद्र १९ गते, बिहीबार १८:१४

जसपाद्वारा वीरगन्जमा प्रदर्शन

मधेसीबाट जग्गा खोसी भू–माफियालाई दिन ल्याइँदै छ भूमि विधेयकः अध्यक्ष यादव

वीरगन्ज-

नेपाल सरकारले ल्याउन लागेको भूमि विधेयकको विरोध गर्दै बुधबार जनता समाजवादी पार्टी पर्साले वीरगन्जमा प्रदर्शन गरेको छ । जसपा पर्साका जिल्ला अध्यक्ष राम नरेश यादवको नेतृत्वमा वीरगन्जको मुर्ली बगैचा स्थित लाल बंगलाबाट निकालिएको विरोध जुलुस वीरगन्जको विभिन्न भागको परिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले मधेसी जनतालाई दुःख दिन र भूमाफियालाई लाभ पु¥याउनका लागि सरकारले भूमि विधेयक ल्याउन लागेको दाबी गर्नुभयो । उहाँले जग्गाको हदबन्दीको नाममा मधेसी गरिबले भोग गर्दै आएको जग्गालाई हत्याई भूमाफियालाई वितरण गर्न सरकारले विधेयक ल्याउन लागेको आरोप लगाउनुभयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले काँग्रेस ऐंजार नेताको भ्रष्टाचारलाई लुकाउन बनाइएको वर्तमान सरकारले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई झुठा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको जानकारी दिनुभयो । उहाँले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन अग्रणी भूमिका खेलेका जसपाका नेता उपेन्द्र यादवलाई गौर हत्या काण्डको झुठा मुद्दामा फसाई वर्तमान सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाउनुभयो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शशिकपुर मियाँले मधेसी जनतालाई होच्याउन खोजिए त्यसको कडा प्रतिकार गर्न मधेसी तयार रहेको उद्घोष गर्नुभयो । उहाँले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई सरकारले झुठा मुद्दामा फसाउन खोजे मधेसी जनताले ०६३-०६४ जस्तै मधेस विद्रोहमा ओर्लिने चेतावनी दिनुभयो ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस