२०८२ भाद्र २० गते, शुक्रबार १७:२२

महिला तथा बालबालिका विरुद्धका अपराध नियन्त्रणमा जिप्रका पर्सा उत्कृष्ट

नेपाल सरकारद्वारा पर्साका एसपी मिश्र सम्मानित

वीरगन्ज-

महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट कार्य गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ ।

मानव बेचबिखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा उपरीक्षक मिश्रलाई कदरपत्रले सम्मानित गरिएको हो ।

मानव बेचबिखन विरुद्धका क्षेत्रमा ७७ वटा जिल्ला प्रहरी कार्यालयको कार्य मूल्याङ्कन गर्दा जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट भएकाले उपरीक्षक मिश्रलाई सरकारले सम्मानित गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपरीक्षक मिश्रलाई खादा लगाई कदरपत्रले सम्मानित गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले महिला तथा बालबालिका बेचबिखन मानवता विरुद्धकै जघन्य अपराध रहेको र यस प्रकारको अपराधलाई नियन्त्रण गर्न पर्सा प्रहरीले खेलेको भूमिकाको नेपाल सरकारले उच्च मूल्याङ्कन गर्दै उपरीक्षक मिश्रलाई सम्मानित गरेको धारणा व्यक्त गर्नुभयो ।

गत आर्थिक वर्षमा पर्सा प्रहरीले उत्कृष्ट कार्य गर्दै भारतमा समेत बेचिएका नेपाली चेलीहरूलाई सकुशल स्वदेश फर्काउनुका साथै घटनामा संलग्न रहेकाहरुलाई समेत पक्राउ गरी मुद्दा चलाउने जस्ता कार्यले देशभरकै जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा उत्कृष्ट भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले जानकारी दिनुभयो ।

मानव बेचबिखन जस्ता जघन्य अपराधलाई नियन्त्रणमा शून्य सहनशीलता अपनाउँदै अनुसन्धानबाट दोषी देखिएका विरुद्ध कडा भन्दा कडा कार्यवाही गर्न उहाँले नेपाल प्रहरीलाई निर्देशन गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सालाई प्रदान गरिएको सम्मानपत्रमा यसरी उल्लेख गरिएको छ :

“श्री जिल्ला प्रहरी कार्यालय पर्सा,
मानव बेचबिखन तथा ओसारपसार रोकथाम, नियन्त्रण, अभियोजन र अनुसन्धानका क्षेत्रमा सक्रिय रही पीडित÷प्रभावितहरूको उद्धार तथा न्याय पहुँचमा उल्लेखनीय कार्य गरी पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १९ औं राष्ट्रिय दिवस २०८२ को अवसरमा यो सम्मानपत्र प्रदान गरिएको व्यहोरामा उल्लेख गरिएको छ ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस