वीरगन्ज-
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशलाई लक्षित गरी नेपाल प्रहरीको प्रदेशीय कार्यालय वीरगन्ज सञ्चालन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षकको दबन्दीलाई कार्यान्वयन गर्दै नेपाल सरकारले वीरगन्जको मुर्ली बगैचामा अवस्थित पहिलेको एसएसपी कार्यालयमै प्रदेश प्रहरी कार्यालय सञ्चालन गरेको हो ।
मधेस प्रदेशभित्र हुने अपराधको सूक्ष्म अनुसन्धानलगायतका विभिन्न १३ वटा विषयमा कार्य गर्ने जिम्मेवारीसहित प्रहरी प्रधान कार्यालयले आफ्नो संघीय संरचना अन्तरगत नेपाल प्रहरीको प्रदेश कार्यालय सञ्चालनमा ल्याएको हो ।
प्रदेश प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले शुक्रबार सञ्चारकर्मीसँग भेटघाट गर्दै संघीय सरकार अन्तर्गत नेपाल प्रहरीको प्रदेश कार्यालय सञ्चालनमा आएको जानकारी दिनुभयो ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अदालतबाट दोषी ठहर भए पनि फरार रहँदै आएका अपराधीहरूको खोजतलास गरी कानुनी दायरामा ल्याउनेदेखि जघन्य अपराधमा दोषी नभेटिएका पुराना र जटिल प्रकृतिका मुद्दाहरूको सूक्ष्म अध्ययन अनुसन्धान गरी दोषी पत्ता लगाउन विज्ञ अनुसन्धान अधिकृतहरुलाई दबन्दी दिइएको बताउनुभयो ।
विद्युतीय अपराधदेखि राजमार्गको सुरक्षा तथा व्यवस्थापनसम्मको जिम्मेवारी यस कार्यालयलाई प्रदान गरिएको जानकारी दिँदै एसएसपी कोइरालाले जनताको जीव धनको सुरक्षा गर्दै समाजमा अमन–चयन कायम राख्नु र कानुनको सर्वोच्चता स्थापना गर्नु मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
मधेस प्रदेशभित्र हुने जटिल प्रकृतिका अपराधलाई अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउने प्रदेश कार्यालयको मातहतमा प्रहरी उपरीक्षक, नायब उपरीक्षक, निरीक्षकलगायत दक्ष जनशक्तिले सञ्चालन गर्ने २३ वटा उपशाखाहरू रहेको उहाँले जानकारी दिनुभयो ।