वीरगन्ज-
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सव ‘मोहम्मद डे’ आज नेपालसहित विश्वभर धार्मिक श्रद्धा, उत्साह र सद्भावका साथ मनाइएको छ।
नेपाल सरकारले मुस्लिम समुदायका लागि विशेष सार्वजनिक बिदा दिएको छ भने मधेश प्रदेश सरकारले समेत सम्पूर्ण प्रदेशमा बिदा घोषणा गर्दै पर्वको महत्वलाई मान्यता दिएको छ।
मुस्लिम समुदायले आजको दिन काठमाडौं, वीरगन्ज, गोरखा, नेपालगञ्ज, विराटनगरलगायतका स्थानहरूमा धार्मिक जुलूस, सामूहिक कुरान पाठ, मस्जिदमा विशेष प्रार्थना तथा सामूहिक भोजनका कार्यक्रमहरू आयोजना गरेका छन्। पर्वको अवसरमा शान्ति, सहिष्णुता र भाइचारा प्रवद्र्धन गर्ने सन्देश दिइएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गरेका छन्। उपराष्ट्रपतिले मोहम्मदको जीवन दर्शनबाट त्याग, मानवता र भाइचाराको पाठ सिक्न आग्रह गर्दै आजको समाजमा यसको सन्देश अझ सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।
सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले यस पर्वले प्रदेशभित्र सामाजिक एकता, धार्मिक सहिष्णुता र सद्भाव बलियो पार्ने अपेक्षा व्यक्त गर्नुभयो।
नेपालको बहुल धार्मिक, सांस्कृतिक र जातीय समाजमा यस पर्वको सामाजिक महत्व झन् प्रकट भएको विभिन्न वक्ताहरूले बताएका छन्। ‘मोहम्मद डे’ सामाजिक सद्भाव, पारस्परिक सम्मान र राष्ट्रिय एकताको प्रतीकको रूपमा मनाइँदै आएको पर्वका रूपमा स्थापित भएको छ।