काठमाडौं –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड भएको बताएकी छन् ।
आइतबार काठमाडौंमा आयोजित निजामती सेवा दिवस २०८२ मूल समारोह कार्यक्रममा बोल्दै उनले राजीनितिक परिवर्तन पश्चात जतिपनि उपलब्धी हासिल भएका छन् त्यो निजामती कर्मचारीहरुको साथबाट मात्र सम्भव भएको धारणा व्यक्त गरिन् ।
उनले भनिन्,‘संसारका विकसित देशहरुको दाँजोमा हाम्रो देशलाई पुर्याउन सकिन्छ । आज हामीले राजीनितिक परिवर्तन गरिसकेपछि जतिपनि उपलब्धी हासिल गरेका छौं । निजामती कर्मचारीहरुले साथ नदिएको भए त्यो उपलब्धी पनि हासिल गर्न सक्ने थिएनौं । त्यसैले अब जति उपलब्धी हासिल गर्नुपर्ने छ ,त्यसमा कर्मचारीहरुको योगदान धेरै आवश्यक छ । कर्मचारीहरु यो देशविकासको र समृद्धिको मेरुदण्ड हुन् ।’
त्यस्तै उनले चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताइन् । निवेदन लेखेर नभई कर्मचारीले अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्ने पर्नेमा उनले जोड दिईन् ।
उनले भनिन्,‘कर्मचारी सरुवा गरिदिन प¥यो भन्ने, मलाई यहाँबाट त्यहाँ पुर्याइदिन प¥यो भन्ने त्यो भीड देखिसकेपछि अब अन्त्य गर्नुपर्छ कि पर्दैन् ? भौतिक रुपमा कर्मचारीहरु आफै आएर सरुवा गरिदिन पर्यो,मलाई यहाँ जाँदा न्याय हुन्छ भन्ने परिस्थितिको कहिले अन्त्य हुन्छ ?त्यसैले एउटा त्यस्तो सिस्टमको विकास गर्नुपर्छ । चक्रिय प्रणालीको आधारमा कर्मचारी सरुवा गर्नपर्छ । त्यो सिस्टमको विकास गर्नुपर्छ । अब निवेदन लेखेर होईन अनलाइनबाट आफ्नो सरुवाको माग गर्नेगरी सिस्टम बनाउनुपर्छ ।’ मन्त्री न्यौपानेले जनतालाई केन्द्रभारमा राखेर काम गर्न आवश्यक रहेको बताईन् ।