वीरगन्ज-
वीरगन्जसहित पर्सा जिल्लामा फैलिँदै गएको हैजा र झाडापखालाको संक्रमण नियन्त्रणका लागि नेपाली सेनाका स्वास्थ्यकर्मीहरू पनि खटिएका छन्। संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन नारायणी अस्पतालमा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जबाट चार जना चिकित्सक परिचालन गरिएको हो।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको विशेष अनुरोधपछि श्रीजंग गणका गणपति तथा कर्णेल लोकेन्द्र कार्कीसँग भएको बैठकपछि बिहीबारदेखि सेनाका चिकित्सकहरू खटाइएको अस्पतालले जनाएको छ।
कर्णेल कार्कीका अनुसार, हैजाले सिर्जना गरेको आपत्कालीन स्वास्थ्य चुनौतीलाई ध्यानमा राख्दै सेनाबाट चिकित्सक टोली पठाइएको हो। उनले स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीबीचको सहकार्यबाट रोग नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
हाल नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीहरूको उपचार भइरहेको छ। स्वास्थ्यकर्मीहरूले स्थानीय समुदायलाई सुरक्षित खानेपानी प्रयोग गर्न, सरसफाइमा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
नेपाली सेनाले यसअघि पनि प्राकृतिक विपत्ति वा आकस्मिक परिस्थितिमा उद्धार, राहत तथा उपचार कार्यमा महत्वपूर्ण भूमिका निभाउँदै आएको छ।