काठमाडौं । जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणा हाल काठमाडौंस्थित एक अस्पतालमा उपचाररत रहेका छन्। उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।
मंगलबारको हिंसात्मक प्रदर्शन तथा आगजनीमा बूढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यही क्रममा घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए। नेपाली सेनाले विशेष अभियानमार्फत दुवैलाई घरबाट उद्धार गरी बेलुकी अस्पताल पुर्याएको हो। छोरा जयवीर भने घटनाको समयमा घरमा थिएनन्।
उद्धारका क्रममा आन्दोलनकारीले हेलिकोप्टरमार्फत लैजाने प्रयासमा लामो समय अवरोध गरेका थिए। सेनाले कडा सुरक्षा व्यवस्थासहित अन्ततः दुवैलाई अस्पताल भर्ना गराएको थियो। सुरक्षाका कारण अस्पतालको नाम सार्वजनिक गरिएको छैन।
चिकित्सकका अनुसार देउवा दम्पतीको टाउकोको पछाडिको भागमा धारिलो हतियारले प्रहार भएको देखिएको छ। खुकुरीजस्तो हतियार प्रयोग भएको अनुमान गरिएको छ। तर उपचारपछि रक्तश्राव रोकिएको र एमआरआई रिपोर्टमा गहिरो चोट नदेखिएकाले दुबैको अवस्था खतरामुक्त रहेको पुष्टि गरिएको छ।