शंकर गणेश \रक्सौल
वीरगन्ज-
बिहार–नेपाल सीमा अन्तर्गत रक्सौलको ग्रामीण क्षेत्र महादेव गाउँ नजिकै सीमा स्तम्भ नम्बर ३७८/१५ मा सशस्त्र सीमा बल (एसएसबी) ४७औँ बटालियनले बुधवार एक बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति मो. अबुल हसन ढाली भएको जनाइएको छ।
एसएसबी ४७औँ बटालियनका कमाण्डेन्ट संजय पाण्डेले नेपालमा पछिल्ला तीन दिनयता उत्पन्न बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सीमामा गस्ती बढाइएको बताए। उनका अनुसार बुधबार दिउँसो करिब ३ बजे शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
प्राथमिक अनुसन्धानमा ढालीले आफू नेपाल राजधानी काठमाडौंस्थित केन्द्रीय जेलमा पाँच वर्षदेखि कैद रहेको र हालै जेल ब्रेक (कैदी भाग्ने घटना) का क्रममा भागेर रक्सौल पुगेको खुलासा गरेको पाण्डेले जानकारी दिए। पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि हरपुर थानामा बुझाइएको छ।
यता, नेपालमा ओली सरकारविरुद्ध भइरहेको आन्दोलनकै क्रममा तेस्रो दिनसम्म देशका विभिन्न जिल्लाका करिब १३ हजार कैदी जेलबाट फरार भएको खबर आएको छ।
यसैबीच, मोतिहारी जिल्लामा मात्र एसएसबीले नेपालका जेलबाट भागेका जम्मा ६ जना कैदीलाई पक्राउ गरी सम्बन्धित थानामा बुझाइसकेको जनाएको छ।