वीरगन्ज-
मधेस प्रदेशका विभिन्न कारागारबाट एक हजारभन्दा बढी कैदी फरार भएका छन्। यो घटनाक्रम काठमाडौंको केन्द्रीय कारागारबाट रास्वपाका सभापति रवि लामिछाने निस्किएपछि देशभरका कारागारमा कैदी फरार हुने क्रम सुरु भएको हो।
महोत्तरीको जलेश्वर कारागारमा रहेका ५ सय ७७ जना कैदीमध्ये ५ सय ७६ जना फरार भएका छन्। कारागार बाहिर प्रदर्शनकारी र भित्रका कैदीहरूले पर्खाल भत्काएपछि सबै कैदी फरार भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी हेरम्ब शर्माले जानकारी दिएका छन्।
सप्तरीको राजविराज कारागारको “बी” ब्लकमा आगजनीपछि २ सय ५ जना कैदी फरार भएका छन्। पर्खालमा प्वाल पारेर भाग्ने प्रयास भए पनि तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोली परिचालन भएपछि ३१ जना कैदी नियन्त्रणमा लिइएका छन्। अन्य कैदीहरूको खोजी जारी छ।
वीरगन्ज कारागारबाट फरार प्रयासका क्रममा चार जना कैदी घाइते भएका छन्। सुरक्षाकर्मीले हवाई फायरिङ र लाठीचार्ज गरेको कारण उनीहरू घाइते भएका हुन्। घाइतेहरूको नारायणी अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको गौर कारागारमा २ सय ९१ कैदीमध्ये २ सय ६४ जना फरार भएका छन्। २७ जना भने कारागारमै रहेका थिए। फरारकै क्रममा ३५ जनालाई पुनः नियन्त्रणमा लिइएको र अहिले कारागारमा जम्मा ६२ जना मात्र रहेका छन्।
सर्लाही कारागारमा पनि कैदीहरूले भाग्ने प्रयाससहित आगजनी गरेका थिए, तर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले तत्कालै नियन्त्रणमा लिएको कारण ठूलो संख्यामा कैदी फरार हुन सकेनन्।