काठमाडौं –
जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट संकलन गरेको विवरणअनुसार मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका अस्पतालमा रहेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म प्रदर्शनमा घाइते भएका १,३६८ जनामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३२१ जना अझै उपचाररत छन् ।
विभिन्न अस्पतालमा मृत्यु
काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, केएमसीमा २, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, बयोधा अस्पतालमा २ र त्रिवि शिक्षण अस्पताल, विराटनगर बिर्तासिटी र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक, उदयपुर, अर्घाखाँची, गोरखा, सिरहा, दोलखा, संखुवासभा, ललितपुर, भक्तपुरलगायतका जिल्लाका युवा रहेका छन् । मृतकमध्ये धेरैजसो १८ देखि ३० वर्ष उमेर समूहका छन् ।
संसद् भवन अगाडिको झडप
सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको पीडित परिवारले दाबी गरेका छन् । घाइते भएकामध्ये धेरैजसोको बाटैमा वा उपचारका क्रममा मृत्यु भएको थियो ।
पोस्टमार्टम विवाद
हालसम्म ३२ वटा शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पुगेका छन् । तर, मृतकका आफन्तहरूले पोस्टमार्टम गर्न अस्वीकार गरेका छन् ।
“हाम्रा बच्चाहरूलाई प्रहरीले ताकी ताकी टाउकोमा गोली हानेको हो । अब शरीर चिर्न दिन्नौं,” मृतक गौरव जोशीका मामा शिशिर भट्टले बताएका छन् ।
फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टम सुरु हुन अझै सकेको छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रक्रिया पूरा गरेर मात्रै शव आफन्तलाई बुझाइने उनले जानकारी दिए ।
पारिवारिक पीडा
गोली लागेर ज्यान गुमाएका अधिकांश मृतक युवाको विवरण खुलेको छ भने केहीको पहिचान अझै हुन सकेको छैन । परिवारजन भने पोस्टमार्टम नगरी शव बुझाउन अडानमा रहेका छन् ।
जेन–जी आन्दोलनका क्रममा भएको यो घटनाले मुलुकभर आक्रोश चुलिएको छ । मृतक परिवार न्यायको खोजीमा छन् भने सरकारले मृत्युको कारण र जिम्मेवारीबारे स्पष्ट पार्न दबाब झेलिरहेको छ ।
जसले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाए
सरकारी तथ्याङ्कअनुसार हालसम्म ३४ जनाको निधन भएको पुष्टि भएको छ । तीमध्ये प्राप्त नाम विवरण अनुसार २५ जनाको सूची यस्तो छ :
| क्र.सं. | नाम थर | उमेर | ठेगाना | लिङ्ग |
|---|---|---|---|---|
| १ | श्रीराम चौलागाईं | १९ | नख्खु | पुरुष |
| २ | सुलभराज श्रेष्ठ | २५ | नेपालगञ्ज उपमहानगरपालिका–१, बाँके | पुरुष |
| ३ | बुद्धबहादुर तामाङ | ४५ | कीर्तिपुर न.पा.–२, काठमाडौं | पुरुष |
| ४ | गौरव जोशी | २९ | धनगढी | पुरुष |
| ५ | योगबहादुर श्रेष्ठ | ३२ | बानबिरे न.पा.–६, सिन्धुपाल्चोक | पुरुष |
| ६ | ईश्वरबहादुर अधिकारी | २६ | नरसिंह, काठमाडौं | पुरुष |
| ७ | सन्तोष विक | २८ | बेलका न.पा.–४, उदयपुर | पुरुष |
| ८ | आयुष थापा | १९ | टोखा न.पा.–६, काठमाडौं | पुरुष |
| ९ | मिसल सारु मगर | २६ | अख्तियारि | पुरुष |
| १० | छत्रमान कुथुमी | ६० | भक्तपुर | पुरुष |
| ११ | विमल भट्ट | २२ | गौरखा | पुरुष |
| १२ | काशी आलम ठाकुर | २४ | नख्खु | पुरुष |
| १३ | विजय चौधरी | ३२ | सिराहा | पुरुष |
| १४ | अभिषेक चौलागाईं | २१ | दोलखा | पुरुष |
| १५ | विनोद महर्जन | ३० | ललितपुर न.पा.–७ | पुरुष |
| १६ | दिलनारायण तामाङ | ४२ | काँध टेमाल गाउँपालिका–७ | पुरुष |
| १७ | योगेन्द्र न्यौपाने | २३ | दुबाकोट, भक्तपुर | पुरुष |
| १८ | प्रविन कुलङ | २५ | संखुवासभा | पुरुष |
| १९ | उमेश महत | २१ | चाबहिल | पुरुष |
| २० | निकिता गौतम | २२ | गौशाला | महिला |
| २१ | अर्जुन भट्ट | २० | नख्खु | पुरुष |
| २२ | देवकुमार सुवेदी | २३ | नख्खु | पुरुष |
| २३ | सौरम किशोर श्रेष्ठ | २२ | नख्खु | पुरुष |
| २४ | सुवास पोखरेल | २२ | नख्खु | पुरुष |
सरकारी विवरणअनुसार हालसम्म ३४ जनाको मृत्यु भएको छ, तर प्राप्त नामावलीमा २५ जनाको मात्र विवरण उपलब्ध छ ।

















