काठमाडौं –
नयाँ सरकार गठनमा सहमति जुटेसँगै शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी तीव्र बनेको छ। राष्ट्रपति कार्यालयले नियुक्तिपत्र, शपथग्रहण कार्यक्रम र त्यसलगत्तै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकसम्बन्धी मस्यौदा तयार गर्न थालेको छ।
यसै क्रममा सरकार गठन र मन्त्रिपरिषद् बैठकको गृहकार्यका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन्। सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी भए पनि सदस्यहरूको नाम गोप्य राखिएको छ।
त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि शीतलनिवासमा उपस्थित भएका छन्। आन्दोलनरत जेन–जी प्रतिनिधि, पूर्वप्रधानन्यायाधीश कार्की, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलबीचको बैठक केहीबेरअघि टुंगिएको छ।
अहिले शीतलनिवास बाहिर सूचनाकर्मीहरूको बाक्लो भीड देखिएको छ।