वीरगन्ज-
चार दिनपछि वीरगन्जको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीय प्रशासनले लगाएको कफ्र्यू हटेसँगै शहरका बजार, पसल र सवारीसाधन संचालनमा आएका छन्।
घण्टाघर, माईस्थान, आदर्शनगर लगायतका क्षेत्रमा विहानैदेखि पसलहरू खुलेका छन् भने छोटो दूरीका सार्वजनिक तथा निजी सवारीसाधन पनि चल्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले भने वीरगन्जको चार किल्लाभित्रको क्षेत्रलाई लक्षित गरी निषेधाज्ञा भने कायम राखेको जनाएको छ। भदौ २४ गतेदेखि जारी कफ्र्यूलाई तत्कालका लागि स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो।
उनका अनुसार सभा, जुलुस र प्रदर्शनमा हाल पनि प्रतिबन्ध कायम छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा भेला, प्रदर्शन, घेराउ र जुलुस गर्न रोक लगाइएको छ।