२०८२ आश्विन २० गते, सोमबार १५:५१

चुनावलाई लक्षित गरी भारतीय प्रहरीद्वारा सिमाक्षेत्रमा सुरक्षा कडा

सितामढीबाट घुसपैठ गरेको आशंकामा पाँच जना विदेशी पक्राउ

गणेश शंकर/ रक्सौल

वीरगन्ज-

भारत, बिहार प्रदेशको विधानसभा निर्वाचन नजिकिँदै जाँदा नेपालसँग जोडिएका सिमाक्षेत्रहरूमा भारतीय सुरक्षाकर्मीहरूले सुरक्षा निगरानी कडा पारेका छन् । सिमापारिबाट हुन सक्ने आपराधिक गतिविधि तथा अवैध घुसपैठ नियन्त्रण गर्न भारतीय सशस्त्र सीमा बल (एसएसबी) र बिहार प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।

नेपालबाट भारततर्फ प्रवेश गर्ने व्यक्तिहरूको परिचयपत्र अनिवार्य रूपमा जाँच गरीमात्र प्रवेश सुनिश्चित गरिएको छ भने विदेशी नागरिकहरूको आवतजावतलाई समेत कडाइका साथ अनुसन्धान गरी मात्र अनुमति दिइएको छ। यसै क्रममा बिहारको सितामढीमा शनिबार साँझ एसएसबी र बिहार प्रहरीले संयुक्त रूपमा पाँच जना संदिग्ध विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

एसएसबीको ७१औं बटालियनको टोलीले सितामढी बसपार्कबाट चार जना सुडानी र एक जना बोलिभियन नागरिकलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सुडानका ४४ वर्षीय अब्दुल, ३८ वर्षीय रमा सिद्दीकी, २७ वर्षीय अली अब्दुल गफार, ३७ वर्षीय महमद डफआला र ३२ वर्षीय बोलिभियन नागरिक मिगुएल सोलानो रहेका छन्।

पोडकास्ट सुन्नुहोस