वीरगन्ज–
विश्व हिन्दु परिषद् पर्साले देशमै पहिलो पटक भव्य चुनरी यात्राको तयारी सम्पन्न गरेको छ। परिषद्को नगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले आइतबार पत्रकारहरूसँग कुरा गर्दै भोलि सोमबार अर्थात् घटस्थापनाको दिन बिहान ३ बजेदेखि करिब १५ सय भक्तजनहरूको सहभागितामा १ सय ५१ मिटर लामो माताको चुनरी यात्राको सुरुवात हुने जानकारी दिए।
उनका अनुसार, भारतका विभिन्न राज्यहरूमा विशेष गरी घटस्थापनाको दिन निकालिने चुनरी यात्रालाई यसपालि पहिलो पटक वीरगन्जको गहवामाई मन्दिरमा सुरु गरिएको हो। यस यात्रामा भक्तजनहरूले माताको विशेष पूजा गरेर हातमा बोकेको चुनरीमार्फत आशीर्वाद प्राप्त गर्ने धार्मिक मान्यता रहेको उनले बताए।
यात्रा नगर परिक्रमा गरी पुनः माईस्थानमा पुगेर विशेष पूजा आराधना गर्दै समापन गरिने सर्राफले बताए।
आफूहरूले यो यात्रा देश र समाजको हितको कामनाका लागि सुरु गरेको र यसमा कुनै पनि प्रकारको आर्थिक सहयोग कसैबाट नलिएको प्रष्ट पार्दै उनले यस ऐतिहासिक यात्रामा सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई सहभागी हुन आग्रह गरेका छन्।