२०८२ आश्विन २० गते, सोमबार १५:५१

पप्पु कन्स्ट्रक्सनको कारण तीन वडाका हजारौं वासिन्दा दुःख खेप्दै

सघन सहरीका कर्मचारीको लापरबाहीले हजारौंको ज्यान जोखिममा : वडाध्यक्ष पराग

वीरगन्ज-

पप्पु कन्स्ट्रक्सनको लापरबाहीका कारण तीन वटै वडाका हजारौं वासिन्दा दीर्घकालीन समस्यामा परेको तथ्य बाहिर आएको छ । ठेक्का सम्झौता भएको ८ वर्षसम्म पनि सडक र नाला निर्माण कार्य सम्पन्न नगरेपछि वीरगन्ज महानगरपालिकाका वडा नं. १८, २० र २७ का वासिन्दा दुःख भोग्न बाध्य भएका छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह (पराग)ले आइतबार सहरी विकासमन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै वडावासीको समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीमार्फत मन्त्रीलाई बुझाइएको उक्त पत्रमा वडाध्यक्ष परागले विगत ८ वर्षदेखि सडक समस्याले त्रसित जनतालाई राहत दिलाउन माग गरेका छन् ।

दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि पप्पु कन्स्ट्रक्सनले ८ वर्ष बित्दा समेत सडक बनाउन नसक्दा वडावासी वर्षायाममा हिलो र गर्मीयाममा धुलो खान बाध्य भएको उल्लेख गरिएको छ । करिब ८ किलोमिटर लम्बाइको सडक खनेर अधुरै छाड्दा पानी जमेर दैनिक दुर्घटना हुने गरेको र सडक दुर्घटनामा कैयौं वडावासी घाइते भएको वडाध्यक्ष परागले गोप्य खबरसँगको कुराकानीमा बताए ।

उहाँका अनुसार ठेकदारले खनेको खाल्डोमा बर्खाको पानी लामो समयदेखि जम्दा स्थानीयवासीमध्ये मलेरिया, हैजा, डेङ्गीजस्ता रोग फैलिएको छ ।

खराब सडकका कारण महानगरपालिकाका ग्रामीण भेग हरपतगंज, अपौनी, उदयपुर घुर्मी, सौराहलगायतका टोलवासी पीडित भएकाले ठेक्का सम्झौता भएको सडकलाई चाँडोभन्दा चाँडो पुरा गराउन वडाध्यक्ष परागले मन्त्री घिसिङसँग माग गरेका छन् । यदि तत्काल पूर्ण निर्माण सम्भव नभए हालका लागि खाल्डोमा ग्राभेल भरी सडक सुचारु बनाउन पनि आग्रह गरिएको छ ।

पप्पु कन्स्ट्रक्सनले समयमा निर्माण सम्पन्न नगर्नुमा सघन सहरी तथा भवन आयोजना कार्यालयका कर्मचारी पनि दोषी रहेको वडाध्यक्ष परागको आरोप छ । ठेकदारलाई समयमा निर्माण सम्पन्न गराउन कार्यालयले चासो नदेखाएको कारण हजारौं वासिन्दा दुःख पाउन बाध्य भएको उल्लेख गर्दै उनले समस्या समाधानमा तत्काल पहल गर्न माग गरेका छन् ।

पोडकास्ट सुन्नुहोस