२०८२ आश्विन २० गते, सोमबार १५:५१

वीरगन्ज नाकाबाट निर्यात एक सय एकासी प्रतिशतले बढ्यो

वीरगन्ज-

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ हुने मालसामानको निकासीमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ९८ करोड रुपैयाँ बढी मूल्यका विभिन्न मालसामान निर्यात भएका छन्।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगन्ज नाकाबाट ६ अर्ब ५ करोड रुपैयाँका मालसामान निर्यात भएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिमा १८१ प्रतिशतले वृद्धि भई १७ अर्ब ३ करोड रुपैयाँका मालसामान निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगन्ज नाकामार्फत भारत तथा तेस्रो मुलुकतर्फ विशेषगरी प्रशोधित पाम आयल, सूर्यमुखी र भटमासको प्रशोधित तेल, विभिन्न किसिमका कपडा, जुत्ता, फलको जुशलगायतका वस्तुको निर्यातमा वृद्धि भएको भन्सार कार्यालयका सूचना अधिकारी लेखनाथ पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार अन्य देशबाट भारतमा प्रशोधित तेल आयात गर्दा बढी कर लाग्ने तर नेपालबाट प्रशोधित तेल भारतमा आयात गर्दा तुलनात्मक रूपमा कम कर लाग्ने भएकाले नेपालबाट भारततर्फ प्रशोधित तेलको निर्यात बढेको हो।

त्यसैगरी, नेपालमा उत्पादन हुने जुत्ताको गुणस्तर राम्रो हुनुका साथै मूल्यमा सस्तो पर्ने भएकाले नेपाली जुत्ताको माग बढ्दै गएको र त्यसअनुरूप निर्यात पनि वृद्धि भएको अधिकारी पोखरेलले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस