काठमाडौँ-
मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन चार दलीय गठबन्धनबीच सहमति भएको छ।
मुख्यमन्त्री सतीश कुमार सिंहलाई जनमत पार्टीले समर्थन फिर्ता गरेसँगै कांग्रेसले पनि समर्थन फिर्ता लिएपछि उनको सरकार अल्पमतमा पुगेको हो। यद्यपि सिंहले तत्काल राजीनामा नदिने र असोज २७ वा २८ गते मात्र विश्वासको मतको दिन पद छाड्ने तयारी गरेको बुझिएको छ।
प्रदेशसभामा सिंहलाई सहयोग गर्दै आएका दलमध्ये एमाले र लोसपा मात्रै अझै सरकारमा रहेका छन्। तर लोसपाका अध्यक्ष तथा पूर्वमन्त्री जितेन्द्र सोनलले समेत सिंहलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न सुझाव दिइसकेका छन्। सत्ताको साँचो अहिले लोसपासँग रहेको देखिन्छ।
चार दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मधेशकेन्द्रित दलहरु छन्। यी दलहरुले एमालेको समर्थनमा सरकार गठन नगर्ने स्पष्ट अडान लिइसकेका छन्। जेन–जी आन्दोलनपछि एमालेप्रति बढेको जनआक्रोशलाई कारण देखाउँदै कांग्रेस नेतृत्वमा मात्रै सरकार बन्नुपर्नेमा तीन दल सहमत भएका हुन्।
उच्च स्रोतका अनुसार, चार दलका शीर्ष नेताहरुबीच काठमाडौँमा सहमति भइसकेको छ र मधेश प्रदेशका नेताहरुलाई नयाँ सरकार गठनका लागि निर्देशनसमेत दिइसकेको छ। तर मन्त्रालय बाँडफाँडमा भने अझै टुंगो लाग्न सकेको छैन।
हाल सिंह नेतृत्वको सरकारमा एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य, गृह, सञ्चार, खेलकुद र समाजकल्याण मन्त्रालय पाएको छ। तर हालै एमालेले अर्थ, भूमि व्यवस्था तथा कृषि मन्त्रालयसमेत दाबी गरेपछि विवाद बढेको एक नेताले बताएका छन्।