२०८२ आश्विन २० गते, सोमबार १३:४९

पर्सा सहित १७ जिल्लामा शनिबारदेखि सोमबारसम्म आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ-

जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारदेखि सोमबारसम्म कोशी, मधेश र बागमती प्रदेश हुँदै बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागले दुई दिनअघि जारी गरेको विज्ञप्तिमा कोशी, कमला, बागमती, नारायणी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र खतरा तह नजिक पुग्ने देखिएको जनाएको छ।

“कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका महाभारत तथा चुरे हुँदै बग्ने स–साना नदी–नालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ,” विज्ञप्तिमा भनिएको छ।

उच्च जोखिममा रहेका १७ जिल्ला

विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट र सर्लाही गरी १७ जिल्ला उच्च जोखिममा परेका छन्। यी जिल्लासहित आसपासका क्षेत्रमा बग्ने स–साना नदी–नालामा शनिबारदेखि सोमबारसम्म आकस्मिक बाढी आउने सम्भावना देखिएको विभागले जनाएको छ।

बाढी, पहिरो, भू–क्षय र डुबानको जोखिम बढ्ने भएकाले सडक तथा हवाई यातायात गर्दा विशेष सावधानी अपनाउन विभागले सचेत गराएको छ। दसैंका कारण मानिसहरूको आवतजावत बढिरहेको अवस्थामा थप सतर्कता आवश्यक रहेको बताइएको छ।

न्युन चापीय प्रणालीको असर

बंगालको खाडीमा विकसित भएको न्युन चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा छ। यसकै कारण जलवाष्पयुक्त मनसुनी वायु नेपालतर्फ प्रवेश गर्ने र शनिबारदेखि सोमबारसम्म मनसुनी गतिविधि सक्रिय हुने अनुमान गरिएको छ।

मौसमविद्हरूले विशेष गरी शनिबार र आइतबारका दिन मुख्य राजमार्गहरूमा अनावश्यक यात्रा नगर्न र सवारीसाधन सञ्चालनमा पनि सावधानी अपनाउन सुझाव दिएका छन्।

पोडकास्ट सुन्नुहोस