कपिलबस्तु-
कपिलबस्तुको शिवराज नगरपालिका–१, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ख ५७०३ नम्बरको बस बिहान करिब ६ बजे अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको हो ।
बसमा करिब ४० जना यात्रु सवार रहेका थिए । तीमध्ये २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजतलास भइरहेको डीएसपी सिंहले जानकारी दिनुभयो ।
उद्धार कार्यमा प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोली सक्रिय रहेको र घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा बस अनियन्त्रित भएको देखिए पनि थप अनुसन्धान भइरहेको छ ।