२०८२ आश्विन २० गते, सोमबार १३:४९

उमालेको वा संक्रमणमुक्त पारिएको पानी मात्र सेवन गर्न चिकित्सकहरूको सुझाव

विजय चौहान-
अविरल वर्षाले पानीको मूल स्रोतलाई संक्रमित पारेको कारण पर्सा जिल्लामा पानीजन्य रोगको जोखिम बढेको छ। जलसंकटका बेला तीनै तहका सरकारले जडान गरिएका डिप टुवेलबाट खानेपानी आपूर्ति गर्न नालाभित्र तथा नाला माथिबाट पाइप ओछ्याएको र उक्त पाइप वर्षाको पानीमा डुबेका कारण पानीजन्य रोगको जोखिम उच्च भएको हो।

बारा–पर्साका विभिन्न क्षेत्रमा पहिलेदेखिनै हैजाको संक्रमण देखा पर्दै आएको र खानेपानीको मूल स्रोत वर्षाको पानीमा डुबेका कारण पानीजन्य विरामीको संख्या वृद्धि हुने सम्भावना रहेको नारायणी अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहले जानकारी दिनुभयो। उहाँले दुई दिनदेखि परेको अविरल वर्षाले बस्तीतर्फको खानेपानीको स्रोत संक्रमित बनाएकाले खासगरी झाडापखाला, बान्ता, टाइफाइड, उच्च ज्वरो, फुड पोइजनिङ, हैजा जस्ता रोगबाट ग्रस्त हुनेको संख्या बढ्ने बताउनुभयो।

पछिल्लो समय बारा–पर्सामा वर्षा भएपछि झाडापखाला, हैजा लगायतका पानीबाट सर्ने रोगका विरामीको संख्या बढ्दै आएको छ र विगतको अनुभवले अबको दुई–तीन दिनभित्र पानीजन्य रोगका विरामीको संख्यामा उच्च वृद्धि हुने सङ्केत दिएको डा. सिंहको भनाइ छ।

डिप टुवेलका सबै पाइपलाइन फोहर पानीमा डुबेका छन् र ती पाइपबाट आएका पानी सर्वसाधारणले सेवन गर्ने भएकाले विरामी हुने सम्भावना बढी रहेको उहाँले बताउनुभयो।

गोप्यखबरसँग कुरा गर्दै डा. सिंहले अबको दुई–तीन दिनभित्र बारा–पर्सामा पानीजन्य रोगका विरामीको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको र त्यस्ता विरामी अस्पताल आएका अवस्थामा राखेर उपचार गर्न अस्पताल पूर्वतयारीमा जुटेको जानकारी दिनुभयो। अस्पतालको आकस्मिक कक्षको पश्चिमतर्फ रहेको कोठामा झाडापखाला तथा हैजा रोगबाट संक्रमितलाई राखी उपचार गर्न २५ शैया छुट्याइएको छ भने विरामीको संख्या बढ्दै गए नयाँ निर्माण भएको भवनमा थप ३० शैयाको व्यवस्था अस्पताल प्रशासनले गरेको उहाँले बताउनुभयो।

पानीजन्य रोगबाट जोगिन उमालेको पानी मात्र सेवन गर्न डा. सिंहले सर्वसाधारणलाई अपिल गर्दै झाडापखाला, बान्ता, उच्च ज्वरो आएमा तत्काल नजिकको स्वास्थ्य उपचार केन्द्रमा पुर्‍याउन सबैलाई आग्रह गर्नुभयो।

अविरल वर्षाको पानी चारैतिर जमेको कारण सर्पदंशको जोखिम समेत बढेकाले त्यसबाट पनि सावधानी अपनाउन डा. सिंहले सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ।

पोडकास्ट सुन्नुहोस