२०८२ आश्विन १९ गते, आईतवार १७:४८

बाढी–दुःखमा मधेस, मुख्यमन्त्री सिंहको “विज्ञप्ति स्टन्ट” मात्र!

वीरगन्ज –

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शुक्रबारदेखि परेको अविरल वर्षा र त्यसले सिर्जना गरेको संकटपूर्ण अवस्थाप्रति ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेका छन्। तर, उनको यो कदमलाई धेरैले “औपचारिकता मात्र” भनेर आलोचना गरेका छन्।

मधेस प्रदेशमा सुख्खा र बाढी दुवै समस्याले जनजीवन प्रभावित भइरहेका बेला मुख्यमन्त्री सिंहले अहिलेसम्म ठोस कार्य गर्न नसकेको टिप्पणी गरिएको छ।
राजनीतिक विश्लेषक र आम नागरिकहरूको बुझाइमा उनले “स्टन्टबाजी” रोक्न सकेका छैनन् र जनताको दुःखसँग संवेदनशील व्यवहार देखाउन असफल भएका छन्।

विज्ञप्तिमा मुख्यमन्त्री सिंहले सुरक्षा निकायहरू पूर्ण रूपमा सक्रिय र प्रतिबद्ध रहेको दाबी गरेका छन्। उनले प्रदेश सरकार मातहतका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई जिम्मेवारीपूर्वक सेवा प्रवाहमा सक्रिय रहन निर्देशन दिएको पनि बताएका छन्।

सिंहले भनेका छन् “नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि राहत, उद्धार र सहयोगका कार्यहरू निरन्तर भइरहेका छन्। कुनै पनि अमूल्य मानव जीवनको क्षति नहोस् भन्ने कामना गर्दछु।”

उनले थपे,“यो कठिन घडीमा प्रदेश सरकार तपाईंका साथ छ। हामी सबै मिलेर यो विपद् पार गर्नेछौं। एक अर्काको सहयोग र एकताको भावना हाम्रो सबैभन्दा ठूलो शक्ति हो। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्।”

तर अविरल वर्षा, बाढी र सुख्खाका समस्याले मधेसका जनता अझै पनि राहतको प्रतीक्षामा रहेका छन्। स्थानीयले “विज्ञप्ति होइन, वास्तविक राहत चाहिएको छ” भन्ने प्रतिक्रिया दिएका छन्।

पोडकास्ट सुन्नुहोस