काठमाडौं –
कुनै समय नेपालमा मौसमको भविष्यवाणीप्रति आलोचना मात्र नभइ व्यंग्य समेत हुने गर्दथ्यो । विश्वास कम र कटाक्ष बढी हुने गर्दथ्यो । तर पछिल्लो अवस्था बदलिएको छ र विश्वसनीयता बढेको छ ।
नेपालमा मौसम पूर्वानुमान प्रणाली प्रविधिमा तीव्र विकास भएकाले भविष्यवाणीप्रति आम सर्वसाधारण विश्वस्त हुने गरेका छन् । जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक सुमन कुमार रेग्मीका अनुसार पछिल्लो समय मौसम पूर्वानुमान प्रक्रिया अत्यन्तै वैज्ञानिक, विश्लेषणात्मक र प्रविधिनिर्भर बनेको दाबी गर्छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपमहानिर्देशक रेग्मीले मौसम पूर्वानुमान अब केवल अनुमानमा आधारित नभई संकलित तथ्यांक र विश्लेषणमा आधारित हुने बताउँछन् ।
‘मौसम पूर्वानुमान भन्नाले केवल हचुवाको भरमा गरिने कुरा होइन,’ रेग्मीले भने, ‘हामीसँग अहिले चौबीसै घण्टा रियल टाइममा डाटा आउने मौसमी केन्द्रहरू छन्, भू–उपग्रहका तस्वीरहरू, राडार सूचनाहरू, ती सबैको विश्लेषण गरेर पूर्वानुमान गरिन्छ ।’
गणितीय मोडलको प्रयोग
रेग्मीका अनुसार हाल विश्वभर प्रचलित गणितीय मौसम पूर्वानुमान प्रणाली नै नेपालले पनि अपनाएको छ । यस्ता मोडेलले विभिन्न स्रोतबाट प्राप्त डाटाहरूलाई इनपुटको रूपमा लिएर कम्प्युटर प्रणालीमा विश्लेषण गर्छन् । त्यसपछि, निश्चित अवधिसम्म मोडेल ‘रन’ गरेर आवश्यक पूर्वानुमान उत्पादन गर्छ ।
‘हामीले नेपालभित्रको मात्र होइन, नेपालबाहिरको क्षेत्रबाट समेत संकलन गरिएका वायुमण्डलीय तथ्यांकहरू इनपुट दिन्छौं,’ रेग्मीले भने, ‘त्यसपछि सफ्टवेयर मोडेलले विश्लेषण गरेर सहर–सहरको मौसम पूर्वानुमान दिने प्राविधिक क्षमता विकास भएको छ ।’
राडार र स्याटेलाइटको प्रयोग
नेपालमा हाल तीनवटा राडार प्रणाली रहेका छन् । जुन उदयपुर, पाल्पा र सुर्खेतमा छन् । तीमध्ये उदयपुर र पाल्पा सञ्चालनमा छन् भने सुर्खेतको राडार अझै सञ्चालनमा आउन बाँकी रहेको उनले बताए ।
त्यस्तै, चीन र जापानका भू–उपग्रहहरूबाट प्राप्त बादलका तस्बिरहरूको समेत विश्लेषण गरेर पूर्वानुमान गरिने उनले जानकारी दिए ।
उनले भने, ‘स्याटेलाइटको कुरा गर्दा दुई वटा स्याटेलाइटबाट काम गरिरहेका छौं । खासगरी एउटा चाहीं चाइनाको छ, चाइनाको भूउपग्रहबाट प्राप्त बादलका तस्बिरहरू हेर्न सकिन्छ । अर्को जापनिज स्याटेलाइटबाट प्राप्त भूउपग्रह तस्बिरहरू हेर्न सक्छौं ।
त्यसको विश्लेषणको आधारमा मौसम पूर्वानुमानमा गर्छौं । त्यो अहिलेलाई पर्याप्तै छ । खासगरी राडारको सन्दर्भमा राडारको जम्मा झन्डै तीनटा राडार छ । एउटा उदयपुरमा, अर्को पाल्पामा र अर्को सुर्खेतमा छ,’ उनले अगाडि भने, ‘सोही उपकरणहरुको सहायतामा गरिएको विश्लेषण अहिलेका लागि पर्याप्त मानिएको छ । अब राडारहरू पूर्ण सञ्चालनमा आएपछि अझ सशक्त पूर्वानुमान सम्भव हुन्छ ।’
विशेषगरी बबरमहलमा रहेको जल तथा मौसम विज्ञान विभागको केन्द्रीय कार्यालय र मातहतको मौसम पूर्वानुमान महाशाखा साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरबाट धेरै काम हुने गरेको छ । त्यहाँ रहेका चीन, भारत र जापानका स्याटेलाइट इमेज एवम वेबसाइटबाट धेरै काम हुने गरेको छ ।
आधुनिक प्रविधिको उपयोगसँगै नेपालमा मौसम पूर्वानुमान ८० देखि ८५ प्रतिशतसम्म मिल्ने गरेको दाबी गरिएको छ ।
एआईको सम्भावना
प्रविधिको विकाससँगै अब मौसम पूर्वानुमानमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गर्ने तयारीसमेत विभागले गरिरहेको छ । रेग्मी भन्छन्, ‘विश्वका धेरै क्षेत्रमा जस्तै हामीले पनि एआईलाई मौसम पूर्वानुमानमा प्रयोग गर्नेतर्फ अध्ययन र छलफल सुरु गरेका छौं ।’
उनका अनुसार प्रविधि निरन्तर परिवर्तनशील हुन्छ र नयाँ प्रविधिहरूलाई समेट्दै लैजान सकेमा अझै प्रभावकारी पूर्वानुमान सम्भव हुनेछ ।
जनशक्तिको अभाव र चुनौती
प्रविधिसँगै मौसम पूर्वानुमानमा दक्ष जनशक्ति आवश्यक हुने उल्लेख गर्दै रेग्मीले हाल जनशक्तिको अभावसमेत प्रमुख चुनौती भएको बताए । ‘केवल प्रविधि भएर पुग्दैन, त्यसलाई चलाउन सक्षम जनशक्ति पनि चाहिन्छ,’ उनले भने, ‘विगतको तुलनामा अब सरकारी तथा अन्य निकायहरूमा जनशक्ति विस्तार भएपनि अझै परिपूर्ण भइसकेको छैन ।’
जलवायु परिवर्तनको असर
विगत २०–२५ वर्षको अवधिमा मौसम प्रणालीमा उल्लेख्य उतारचढाव देखिएको उल्लेख गर्दै रेग्मीले अहिलेको मौसम परिबर्तनलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याए । ‘वर्षा हुने तरिका, मौसम चक्र सबैकुरा परिवर्तन भएको छ,’ उनले भने, ‘यसले कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ ।’
जनसहभागिता र प्रतिक्रिया
मौसम पूर्वानुमानमा सर्वसाधारणदेखि सरकारी र गैरसरकारी निकायसम्मको चासो र सहकार्य बढ्दो क्रममा रहेको रेग्मी बताउँछन् । ‘सबै निकायबाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’उनले भने, ‘तर प्रविधि र जनशक्ति दुवैलाई समयानुकूल सुधार गर्दै जानु आवश्यक छ ।’
नेपालमा मौसम पूर्वानुमान प्रणालीले पछिल्लो समय वैज्ञानिक र प्राविधिक सुधारका माध्यमबाट उल्लेखनीय प्रगति गरेको छ । तर, अझ सशक्त र भरपर्दो पूर्वानुमान प्रणाली बनाउन नयाँ प्रविधि, जनशक्ति र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक देखिन्छ । जलवायु परिवर्तनको चुनौतीसँग जुध्न मौसम पूर्वानुमान प्रणालीको सुदृढीकरण अब समयको आवश्यकता बनेको छ ।