२०८२ आश्विन २५ गते, शनिबार १२:१७

गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु

काठमाडौं-

गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।

इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, “सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन् । दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ ।”

अमेरिकी मध्यस्थतामा भएको यो सम्झौताअनुसार, हमासको नियन्त्रणमा रहेका बन्दीहरुको मुक्तिका लागि ७२ घण्टे समयावधि सुरु भएको छ । पहिलो चरणमा इजरायलले झण्डै २ हजार प्यालेस्टिनी कैदी र बन्दीलाई रिहा गर्नेछ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भने, “हाम्रा सैनिकहरू अझै पनि गाजाको भीत्रि भागमा रहनेछन् र नियन्त्रणका क्षेत्रहरूमा दबाब कायम राख्नेछन् । यो सम्झौताको अर्को चरणका लागि तयारी जारी रहनेछ ।”

उनका अनुसार आगामी दिनमा २० जना जीवित बन्दीलाई रिहा गरिनेछ भने २८ जना मृतकका शव हस्तान्तरण गरिनेछ । उनले थपे, “हमासलाई निशस्त्र पारिनेछ र गाजालाई सैन्यरहित क्षेत्र बनाइनेछ । यदि यी लक्ष्यहरू सजिलै प्राप्त भएनन् भने कठिन तरिकाले पूरा गरिनेछ ।”

पोडकास्ट सुन्नुहोस