काठमाडौं –
गाजामा हमास लडाकु समूहले बन्धक बनाएका नेपाली नागरिक विपीन जोशी जीवित रहेको पुष्टि भएको छ। अमेरिकी पत्रिका वासिङ्टन पोस्टले सार्वजनिक गरेको नयाँ सूचीमा जोशीको नाम पनि समावेश गरिएको हो।
यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्थाबारे कुनै जानकारी नआएको भन्दै सीएनएनले समाचार प्रकाशित गरेको थियो। तर अहिले वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित २२ जनाको नयाँ सूचीमा जोशी पनि रहेको पुष्टि भएको हो।
रिपोर्टअनुसार गाजामा बन्धक बनाइएका २५१ जनामध्ये हाल ४८ जना अझै पनि बन्धक अवस्थामा रहेका छन्। तीमध्ये केहीको मृत्यु भएको आशंका गरिएको छ। पछिल्लो समय हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतासँगै बन्धकहरूलाई क्रमिक रूपमा रिहा गरिँदै आएको छ।
त्यसै क्रममा नेपालका कञ्चनपुरका विपीन जोशी पनि छिट्टै मुक्त हुने आशा बलियो बनेको छ। जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले आक्रमण सुरु गर्नु भन्दा एक महिना अघि मात्र नेपालबाट इजरायल पुगेका थिए। वासिङ्टन पोस्टका अनुसार उनी अहिले गाजामा जीवित रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्।
अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच भएको नयाँ युद्धविराम सम्झौता कार्यान्वयनको चरणमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे युद्धविराम योजनालाई दुवै पक्षले स्वीकार गरेपछि बन्धकहरूलाई क्रमशः मुक्त गर्ने सहमति भएको हो।
जोशीको रिहाइका लागि नेपाली सरकार र उनका परिवारले निरन्तर पहल गर्दै आएका छन्। उनका परिवारजनले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिलसमेत गरेका थिए। युद्धविराम पूर्ण रूपमा कार्यान्वयन भएपछि हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई मुक्त गरिने जनाइएको छ।