२०८२ आश्विन २७ गते, सोमबार १९:५२

अव्यवस्थित पार्किङ र ट्राफिक अव्यवस्थाविरुद्ध वीरगन्जका युवाहरू अदालत पुगे

वीरगन्ज-
वीरगन्जका सचेत युवाहरूले आज उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा अव्यवस्थित पार्किङ र ट्राफिक नियम उल्लंघनविरुद्ध सार्वजनिक सरोकारको मुद्दा दायर गरेका छन्। उक्त मुद्दामा वीरगन्ज महानगरपालिकालगायत सम्बन्धित निकायहरूलाई विपक्षी बनाइएको छ।

युवाहरूका अनुसार हाल वीरगन्जका विभिन्न मुख्य सडक र बजार क्षेत्रहरूमा सवारीसाधनहरू अनियमित र अव्यवस्थित रूपमा पार्किङ गरिँदा सर्वसाधारणलाई हिँडडुल गर्न कठिनाइ हुने, सडकमा भीडभाड बढ्ने र दुर्घटनाको जोखिम समेत उच्च भएको छ।

मुद्दामार्फत उनीहरूले महानगरपालिकाले तत्काल प्रभावकारी कदम चाल्दै पार्किङ प्रणालीलाई व्यवस्थित बनाउन, ट्राफिक व्यवस्थापन सुधार गर्न र नियम उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्न माग गरेका छन्।

स्थानीयवासीहरूका अनुसार लामो समयदेखि यो समस्या समाधान नहुँदा शहरको सौन्दर्य र यातायात प्रणालीमा नकारात्मक असर परिरहेको छ। अब अदालतले यस विषयमा कस्तो आदेश जारी गर्छ भन्नेबारे वीरगन्जवासीहरूमा ठूलो चासो बढेको छ।

पोडकास्ट सुन्नुहोस