वीरगन्ज-
जनमत पार्टीका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
सिंहले आज विश्वासको मत लिने तयारी गरेका थिए, तर विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुअघि नै उनले राजीनामा दिएपछि बैठकको कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको छ।
यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहले राजीनामा दिने घोषणा गरेका थिए। तर त्यसपछि सामाजिक सञ्जालमार्फत उनले जनधनको क्षति नहोस् भन्ने उद्देश्यले भावनात्मक रूपमा राजीनामा लेखेको दाबी गर्दै निर्णय परिवर्तन गरेका थिए।
उनको स्पष्ट धारणा नआएपछि आफ्नै दल जनमत पार्टीले भदौ ३१ गते सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जानकारी सभामुखसमक्ष पेस गरेको थियो।
सिंहको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अनुमान गरिएको छ।