२०८२ आश्विन २८ गते, मंगलवार १५:२२

नेपाली कांग्रेसका सभापति देउवाले घोषणा गरे — आगामी महाधिवेशनबाट नयाँ सभापति चयन हुने

काठमाडौं –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनबाट नयाँ सभापति चयन हुने स्पष्ट बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले अब आफू सभापति पदमा रहिरहन नचाहेको र नेतृत्व हस्तान्तरण गर्ने निर्णय लिइसकेको बताए।

देउवाले भने, “घरमा सधैं एकजना मूली रहँदैन, पार्टीमा पनि एकैजना सभापति रहिरहँदैन। मैले पहिले नै वैधानिक व्यवस्था र राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।”

उनले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्।
जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्।

पार्टी स्रोतका अनुसार देउवाको यो अभिव्यक्ति कांग्रेसको नेतृत्व पुस्ता परिवर्तनको संकेतका रूपमा लिइएको छ।

पोडकास्ट सुन्नुहोस