२०८२ कार्तिक ६ गते, बिहीबार ११:३२

मधेसी समुदायमा आज बजडी पर्व, दिदी–बहिनी र दाजु–भाइबीचको प्रेम र आत्मीयताको प्रतीक

वीरगन्ज –

यमपञ्चकको पाँचौँ दिन आज मधेसी समुदायमा दिदी–बहिनी र दाजु–भाइबीचको स्नेह, माया र आत्मीय सम्बन्धको प्रतीकका रूपमा बजडी पर्व हर्षोल्लासका साथ मनाइँदै छ।

पहाडी समुदायमा भाइटिका मनाइने जस्तै, मधेसी समुदायमा दाजु–भाइको दीर्घायु, सुख–समृद्धि र पारिवारिक एकताको कामनासँग जोडिएको बजडी पर्व गोवर्धन पूजाको भोलिपल्ट विशेष विधि–विधानका साथ मनाइन्छ।

यस दिन दिदी–बहिनीहरूले भगवान् गोवर्धनको पूजा–अर्चना गरी आफ्ना दाजु–भाइको दीर्घायु र दुख–कष्टबाट मुक्ति कामना गर्छन्। प्राचीन परम्परा अनुसार, दिदी–बहिनीले रेंगनीको काँडाले जिब्रोमा घोचेर दाजु–भाइलाई श्राप दिई पुनः श्रापमुक्त गर्ने अनौठो रीत पनि पालना गरिन्छ, जसलाई दाजु–भाइको जीवनका विघ्न–बाधा हटाउने प्रतीकका रूपमा लिइन्छ।

स्थानीय महिलाहरूका अनुसार, यो परम्पराले दिदी–बहिनी र दाजु–भाइबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। उनीहरूले भनिन्, “बजडीले केवल दाजु–बहिनीको माया झल्काउँदैन, यो हाम्रो संस्कृतिको गौरव र एकताको सन्देश पनि हो।”

आज बिहानैदेखि मधेसी समुदायका महिला र युवतीहरू विभिन्न स्थानमा भेला भई सामूहिक रूपमा भगवान् गोवर्धनको पूजा–अर्चना गरेका छन्। पूजाका क्रममा परम्परागत गीत–सङ्गीत गाइएका छन्, जसमा दाजु–भाइको सुख–समृद्धिको कामना गरिएको छ। पूजा पश्चात् दिदी–बहिनीले दाजु–भाइलाई केराउ र मिठाई ‘बजडी’ खुवाउँछन्, जसको अर्थ दाजु–भाइको स्वास्थ्य र शक्ति बजडीझैँ बलियो रहोस् भन्ने हो।

यस अवसरमा दाजु–भाइहरूले पनि आफ्नो गच्छेअनुसार दिदी–बहिनीलाई उपहार प्रदान गर्छन्।

हिन्दु पौराणिक कथाअनुसार, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उचालेर गोकुलवासीलाई इन्द्रको प्रकोपबाट बचाएका थिए। त्यसैले बजडी पर्वलाई गोवर्धन पूजा र कृषि संस्कृतिसँग जोडिएको कृतज्ञताको पर्व मानिन्छ।

तराई–मधेसका जनकपुरधाम, वीरगञ्ज, लहान, राजविराजलगायत क्षेत्रहरूमा आज बिहानैदेखि बजडी पर्वको उल्लासपूर्ण माहोल छ। बजारहरूमा केराउ, मिठाई र पूजाका सामग्री खरिद गर्ने भीड देखिएको छ।

बजडी पर्वले धार्मिक श्रद्धा मात्र होइन, सामाजिक एकता, प्रेम र पारिवारिक सम्बन्धको सुदृढीकरणको सन्देश पनि दिन्छ।

पोडकास्ट सुन्नुहोस