विजय चौहान
छठ पर्व गर्ने व्रतालु तथा श्रद्धालुको भावनासँग तीन तहका सरकार र बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगका सञ्चालकहरूले खेलवाड गरिरहेको वीरगन्जवासिले आरोप लगाएका छन्। छठ पर्वको पूर्वसन्ध्या अर्थात आइतबार साँझसम्म समेत सिर्सिया खोलामा उद्योगको रसायनयुक्त दुर्गन्धित फोहर पानीलाई निर्वाध रूपमा मिसाई उद्योगपति र तीनै तहका सरकारले व्रतालु तथा श्रद्धालुको भावनासँग खेलवाड गरेको स्थानीयहरूको आरोप रहेको छ।
उद्योगबाट निस्किएको रसायनयुक्त फोहर पानी सोझै प्राकृतिक जलस्रोतमा मिसाउन नपाउने कानुनी प्रावधान भएपनि रकमी चलखेलमा सिर्सिया खोलालाई प्रदूषित पारिएको वीरगन्जको रानीघाट निवासी समाजसेवी संजिप थापाले आरोप लगाउनुभयो।
खोलाको पानीलाई प्रदूषित गर्नेलाई कारबाही गर्ने पर्याप्त कानुनी प्रावधान भएपनि सिर्सिया खोलामा भइरहेको प्रदूषणलाई नियन्त्रण गर्न नसक्नुमै पक्कै रकमी चलखेल भएको उहाँले दाबी गर्नुभयो।
सिर्सिया खोलामा उद्योगहरूले गरिरहेको रसायनयुक्त फोहर पानीको मिसावट रोक्न एक महिना अघि पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगन्ज महानगरपालिकाका नगर प्रमुखलाई आग्रह गरिएपनि छठ पूजाको पूर्वसन्ध्यामा समेत खोलाको पानी फोहर र दुर्गन्धित नै छ, यसले प्रशासन र जनप्रतिनिधिको उद्योगी–व्यापारीसँगको साँठगाँठ भएको पुष्टि गरेको थापाले बताउनुभयो।
खोलामा भइरहेको फोहर मिसावट रोक्न प्रहरी, प्रशासन र जनप्रतिनिधिलाई भन्दा–भन्दै हामी थाकिसकेका छौँ, अब छठपछि जनस्तरबाटै यसको समाधानको उपाय खोजिने उहाँले बताउनुभयो। लातको भुत बातले मान्दैन—यही अवस्था सिर्सिया खोलाको प्रदूषणमा समेत लागु भएकाले खोलालाई प्रदूषित बनाउनेलाई तह लगाउने सोचमा वीरगन्जका युवाहरू रहेको थापाले जानकारी दिनुभयो।
सिर्सिया खोलामा भइरहेको प्रदूषणलाई नियन्त्रण गर्न पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग आग्रह गरेपनि सिर्सिया खोलाको पानी अहिले पनि फोहर नै भएकाले अन्य विकल्पको बारेमा सोच विचार गर्न थालिएको छठपूजा व्यवस्थापन समिति रानीघाटका पूर्व अध्यक्ष रोशन गुप्ताले बताउनुभयो। उहाँले खोलाको पानीमा व्रतालु तथा श्रद्धालु प्रवेश गरे छालाको रोग लाग्ने बढी सम्भावना भएकाले तिर–तिरै खाल्डो खनी व्रतालुलाई अर्घ्य दिने व्यवस्थामा आफूहरू लागेको बताउनुभयो।
यस्तै विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसँग बुझ्दा उहाँले सिर्सिया खोलाको प्रदूषण नियन्त्रणमा आफूहरू कटिबद्ध रहेको बताउनुभयो। खोलामा फोहर पानी वा रसायन नमिसाउन उद्योगहरूलाई पहिले नै सूचना गरिएको र त्यस्तो गरेको पाए कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगबाट हुने सिर्सिया नदीको प्रदूषण रोक्न दुवै जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधीसहित स्थानीय प्रहरी प्रशासन नियमित अनुगमनमा छौँ, तर पनि खोलाको पानी सफा नभएकाले यसमा देखिएका दोषीलाई कारबाही गरिने प्रजिअ सुवेदीले दाबी गर्नुभयो।
नेपालको संविधानले मौलिक हकको रूपमा नेपाली नागरिकलाई स्वच्छता अधिकार दिएको भएपनि उक्त अधिकारलाई वीरगन्ज महानगरपालिकाले सोझै धोति लगाउँदै आएको छ। वीरगन्जमा रहेका घरबाट निस्किने चर्पी लगायतको फोहर पानी सोझै सिर्सिया खोलामा मिसाई महानगरपालिकाले आमजनतालाई संविधानले प्रदान गरेको मौलिक हकमाथि ठाडो हस्तक्षेप गर्दै आएको छ। संविधानले प्रदान गरेको अधिकारको संरक्षण गर्न संघ सरकारको प्रतिनिधिको रूपमा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएपनि सिर्सिया खोलामा महानगरपालिकाले गर्दै आएको अवैध फोहर पानीको मिसावट नियन्त्रण गर्न सकिएको छैन।
सिर्सिया खोलाको प्रदूषणमा उद्योगहरूलाई जिम्मेवार बताउँदै आएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आफ्नै कार्यालयबाट भएको त्रुटि सच्याउने कुनै पहल गरेको देखिदैन।














