२०८२ पुष ९ गते, बुधबार २३:१४

छठ पर्वको दोस्रो दिन खरना विधिसँगै निर्जला व्रत सुरु

वीरगन्ज-
सूर्य उपासना र आस्थाको महान पर्व छठको दोस्रो दिन आइतबार साँझ व्रतालुहरूले खरना विधि सम्पन्न गर्दै निर्जला व्रतको सुरुवात गरेका छन्।

स्थानीय भोजपुरी भाषामा “रसियाव रोटी” भनेर चिनिने यस विधिमा व्रतालुहरूले दिनभरको उपवासपछि साँझ दूध, चामल र सख्खरबाट बनेको खिर (रसियाव), रोटी, केरा, फलफूल र मिठाइसहित छठी माताको पूजा अर्चना गरेका छन्। पूजा पश्चात् प्रसाद परिवार, छिमेकी र समुदायसँग बाँड्दै सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ।

छठ पर्व कात्तिक शुक्ल चौथी तिथिबाट सुरु भई चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। पहिलो दिन शनिवार व्रतालुहरूले नहाय–खाय विधिमार्फत नदी, पोखरी वा पवित्र जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेर मानसिक र शारीरिक शुद्धताको आरम्भ गरेका थिए।

दोस्रो दिनको खरना विधिपछि सोमबार साँझ मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन गरिनेछ।

सूर्यको उपासना र जीवनदायिनी शक्तिमा आधारित यो पर्व सुख–समृद्धि, दीर्घायु र कष्ट निवारणको प्रतीकका रूपमा मनाइन्छ। जनविश्वासअनुसार छठी माताको पूजा गर्दा पाप, अन्धकार र दुःख नष्ट भई जीवनमा उज्यालो र समृद्धि आउँछ।

छठको तयारी गोवर्धन पूजा र बजडी पर्वसँगै बिहीबारबाटै सुरु भएको थियो। ग्रामीण क्षेत्रमा माटोको चुल्हो, ढेकी र जाँतोको प्रयोगले परम्पराको झल्को दिने गरेको छ भने सहरी क्षेत्रमा ग्यास चुल्हो र बजारको पिठोको प्रयोग बढ्दो छ।

वीरगन्जका घडिअर्वा पोखरी, सिर्सिया नदी, मुर्ली पोखरी र नगवा पोखरी लगायतका छठ घाटहरूलाई रंगीन बत्ती र फूलपातले आकर्षक रूपमा सजाइएको छ। जलाशयको सरसफाइ र घाट निर्माणले वातावरण संरक्षण र धार्मिक स्वच्छताको सन्देश प्रवाह गरिरहेको छ।

महाभारत र सूर्य पुराणमा उल्लेखित यो पर्व सन्तानको दीर्घायु, परिवारको समृद्धि र स्वास्थ्यका लागि विशेष मानिन्छ। नेपालमा २०४६ सालदेखि राष्ट्रिय पर्वको रूपमा मान्यता पाएको छठ अहिले मधेससँगै काठमाडौँ, पोखरा, धरानजस्ता सहरहरूमा पनि लोकप्रिय बन्दै गएको छ।

मधेसी, पहाडी मूलका साथै इस्लाम धर्मावलम्बीहरूले समेत आस्थापूर्वक मनाउन थालेपछि छठ साझा सांस्कृतिक पर्वको रूपमा स्थापित भएको छ। यद्यपि, जलाशयको प्रदूषण र घाट व्यवस्थापनमा कमी देखिँदा पर्वको पवित्रतामा असर पर्न सक्ने चिन्ता स्थानीयहरूले व्यक्त गरेका छन्।

तथापि, वीरगन्जमा छठको रौनकले उत्साह र भक्ति दुवैको वातावरण सिर्जना गरेको छ। व्रतालुहरू कठोर आस्था र श्रद्धासहित सूर्यको आराधना गर्दै सामाजिक सद्भाव र धार्मिक एकताको सन्देश फैलाइरहेका छन्।

पोडकास्ट सुन्नुहोस