वीरगन्ज-
उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनसम्म श्रद्धा र भक्तिसाथ मनाइने महान आस्थाको पर्व छठ आज विधिवत सम्पन्न भएको छ ।मंगलबार बिहान सबेरै भक्तजनहरूले गाईको दूध, जल र फलफूलसहित उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी व्रत सम्पन्न गरेका हुन् ।
छठ पूजामा सूर्य भगवान र छठी मातालाई अर्घ्य दिने क्रममा गहुँ वा चामलको पिठोबाट बनाइएको ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, स्याउ, केरा, सुन्तला, उखु, पानीसिंगडा लगायतका फलफूल अर्पण गरिएका थिए ।
धार्मिक जनविश्वास अनुसार छठ व्रत बस्नेले दुःख र दरिद्रताबाट मुक्ति पाउने र सन्तान सुख प्राप्त हुने विश्वास रहिआएको छ । पर्वका अवसरमा वीरगन्ज लगायत देशभरका नदी, पोखरी, कुवा, ईनार र जलाशयहरू आकर्षक रूपमा सजाइएका थिए ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन क्रमशः अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई सूर्य उपासना तथा छठी माताको आराधनासहित पर्वको समापन गरिएको हो ।














