धनुषा –
धनुषा जिल्लामा शनिबार साँझ भएको भीषण सवारी दुर्घटनामा एकै परिवारका तीनजनासहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेहरूमा गणेशमान चारनाथ नगरपालिका–१ भरतपुरका ३५ वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीय नीषा मगर र अटोरिक्सा चालक ४० वर्षीय डम्बर राई रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका १४ वर्षीय शीतल पुर्वछाने मगर र ९ वर्षीय रोशन पुर्वछाने मगरलाई उपचारका लागि जनकपुरधामस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट धनगढी जाँदै गरेको सुप–०१–००१–ख–३२८८ नम्बरको यात्रुबसले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २–०१–००१–ह–१२३० नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटना गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्र बजारस्थित पूर्व–पश्चिम राजमार्गमा भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।














