२०८२ कार्तिक १८ गते, मंगलवार १८:२४

मुख्यमन्त्री सोनलले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्, २२ कात्तिकमा विश्वासको मत लिने तयारी

काठमाडौं-
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मधेश प्रदेशको मुख्यमन्त्री बनेको झन्डै एक महिना भइसकेको छ। तर, उनले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

सोनलले गत असोज २९ गते जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा नेपालको समर्थनमा मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए। उनले तिहारअघि नै मन्त्रिपरिषद्लाई पूर्णता दिने दाबी गरे पनि सत्तारुढ पाँच दलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा ढिलाइ भएको हो।

हाल मुख्यमन्त्री सोनलसँग जनमत पार्टीका महेशप्रसाद यादव र एकीकृत समाजवादीका मनिष पटेल गरी दुई मन्त्री मात्रै छन्। तर, उनीहरूले समेत मन्त्रालय पाएका छैनन्।

यसबीचमा सोनलले मन्त्रिपरिषद् विस्तारभन्दा पहिले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। उनले आगामी कात्तिक २२ गते विश्वासको मत लिने योजना बनाएका छन्। नेपालको संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनु पर्ने प्रावधान छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकारका लागि कम्तीमा ५४ मत आवश्यक छ। तर, हाल तीन सांसद निलम्बित भएकाले गणना १०४ मा झरेको छ। गठबन्धन सरकारलाई हाल जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद गरी कुल ५५ सांसदको समर्थन प्राप्त छ।

तर, मन्त्रालय बाँडफाँटमा सहमति नजुट्दा असन्तुष्टि बढेको र सत्तासाझेदार दलहरूबीच तालमेल कमजोर बनेको बताइन्छ। सोनलले पनि गठबन्धन स्थिर राख्न विश्वासको मतलाई प्राथमिकता दिएका छन्।

यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेले सोनललाई विश्वासको मत प्राप्त हुन नदिने रणनीति लिएका छन्। कांग्रेसकी सांसद अञ्जना पण्डितका अनुसार, सत्तापक्ष र प्रतिपक्ष दुवैले साना दलहरूसँग गोप्य छलफल थालेका छन्।

मधेश प्रदेशमा हाल १० वटा दल छन्। पहिलो र दोस्रो दल एमाले र कांग्रेससहित पाँच दलले सोनललाई समर्थन गरेका छैनन्। उनीहरूले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका थिए। तर, अन्तिम समयमा जनमत पार्टीले गठबन्धन परिवर्तन गरेपछि नयाँ समीकरण बनेको हो।

हाल एमाले र कांग्रेस दुबै साना दलहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्। ती दलहरूले तीन सांसदको मत निर्णायक हुने भएकाले सोनललाई विश्वासको मत नदिन दबाब बढाइरहेका छन्।

यदि सोनलले विश्वासको मत पाउन असफल भए भने मधेश प्रदेश फेरि राजनीतिक अनिश्चिततामा फस्ने अनुमान गरिएको छ।

पोडकास्ट सुन्नुहोस