२०८२ कार्तिक १८ गते, मंगलवार १८:२५

प्रहरी नायब महानिरीक्षक थपलियाद्वारा पर्सा प्रहरी कार्यालयको निरीक्षण, शाखा प्रमुखहरूलाई निर्देशन

पर्सा-
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाले आज जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण गरेका छन्।

शुक्रवार दिउँसो करिब १२:३० बजे तालुक भ्रमणको क्रममा डीआईजी थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साको सबै शाखा, थुनुवा हिरासत कक्ष र ब्यारेक भवनको अवलोकन एवं निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा डीआईजी थपलियाले कार्यालयका शाखा प्रमुख र मातहतका प्रहरी युनिट इन्चार्जहरूसँग अन्तर्क्रिया गर्दै कार्यसञ्चालन, सेवा प्रवाह, अपराध नियन्त्रण र जनसुरक्षासम्बन्धी अवस्थाबारे ब्रिफिङ लिएका थिए।

सो अवसरमा उनले प्रहरी सदस्यहरूलाई कानूनी जिम्मेवारी, शिस्त, पेशागत दक्षता र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।

उनले प्रहरी संगठनप्रति जनविश्वास बढाउन पारदर्शिता, जवाफदेहित्ता र सकारात्मक व्यवहारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

डीआईजी थपलियाको भ्रमणले जिल्लामा प्रहरी कार्यप्रणालीमा थप उत्साह र जिम्मेवारीबोध पैदा गरेको जिल्ला प्रहरी कार्यालयका अधिकृतहरूले बताएका छन्।

पोडकास्ट सुन्नुहोस