गोरखपुर –
भोजपुरी सिनेमाका सुपरस्टार तथा लोकसभा सांसद रवि किशनलाई फोनमा ज्यान मार्ने धम्की दिने युवकलाई गोरखपुर प्रहरीले पक्राउ गरेको छ। भारतीय संचार माध्यमका अनुसार
पक्राउ परेका व्यक्ति अजय कुमार यादव रहेका छन्, जसले आफूलाई बिहारको आरा जिल्ला निवासी बताउँदै सांसदलाई फोनमा धम्की दिएका थिए। तर, अनुसन्धानपछि उनी वास्तवमा पञ्जाबको लुधियाना जिल्ला अन्तर्गत फतेहगढ बग्गा कला गाउँका निवासी भएको खुलासा भएको हो।
रामगढताल थाना प्रहरीले उनलाई पक्राउ गरी विस्तृत सोधपुछ सुरु गरेको छ।
धम्कीको घटना यस्तो थियो
३१ अक्टोबरका दिन सांसद रवि किशनका निजी सचिव शिवम द्विवेदीको मोबाइलमा एक अज्ञात नम्बरबाट फोन आएको थियो।
फोन उठाएपछि सो व्यक्तिले गालीगलौज गर्दै सांसदलाई धम्की दिँदै भनेका थिए –
“तिमीलाई गोली हानिदिन्छु, चार दिनपछि बिहार आउँछौ भने निश्चित मारी हाल्छु।”
धम्कीका क्रममा उनले सांसदको बिहार चुनाव प्रचारप्रति असन्तुष्टि व्यक्त गरेका थिए र धार्मिक भावनामा आघात पुग्ने आपत्तिजनक टिप्पणीहरू पनि गरेका थिए। उनले भोजपुरी गायक खेसारीलाल यादवसँग सम्बन्धित पुरानो विवादको हवाला दिँदै राम मन्दिर र भगवान रामबारे अपमानजनक टिप्पणी गरेका थिए।
यसरी भयो पक्राउ
घटनापछि सांसदका सचिवले तुरुन्तै गोरखपुरका एसएसपीसँग भेट गरी लिखित उजुरी दर्ता गरेका थिए। उजुरीमा सांसदको सुरक्षा कडा पार्न र धम्की दिने व्यक्तिको तत्काल पक्राउको माग गरिएको थियो।
उजुरी पाएलगत्तै रामगढताल थानामा मुकदमा दर्ता गरी सर्विलान्स र साइबर सेलको टोली सक्रिय बनाइएको थियो।
जांचका क्रममा उक्त नम्बर पञ्जाबको लुधियानाबाट सञ्चालन भइरहेको पुष्टि भएपछि गोरखपुर र स्थानीय प्रहरीले संयुक्त अभियान चलाएर फतेहगढ बग्गा कलाबाट युवकलाई नियन्त्रणमा लिएको हो।
हाल प्रहरीले आरोपीमाथि गम्भीर अपराध र सांसदको सुरक्षासम्बन्धी धम्की सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
















