भैरहवा –
रुपन्देहीको भैरहवास्थित पाँचतारे होटल निर्वाणा लक्जरी इन्टरनेसनलमा सोमबार मध्यरात गोलीकाण्ड भएको छ । घटनामा एक सुरक्षा गार्ड घाइते भएका छन् ।
प्रहरीका अनुसार, होटलको गेट अगाडि केही व्यक्तिहरूबीच सामान्य विवाद सुरु भएको थियो । सो क्रममा एउटा समूह जबर्जस्ती होटल परिसरमा प्रवेश गर्न खोज्दा ड्युटीमा रहेका सुरक्षागार्ड मीनबहादुर परियार (२७, बुटवल–१५) ले रोक्ने प्रयास गरेका थिए । त्यसपछि तीमध्ये एक जनाले परियारमाथि गोली प्रहार गरेका थिए ।
गोली तिघ्रामा लागेपछि परियारलाई तत्कालै भैरहवाको भीम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । अस्पतालले प्राथमिक उपचारपछि उनलाई डिस्चार्ज गरेको छ ।
घटनापछि गोली चलाउने व्यक्ति र उनका साथीहरू फरार छन् । रुपन्देही प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गरी होटल परिसर र वरपरका CCTV फुटेजको विश्लेषण सुरु गरेको जनाएको छ ।
प्रहरीका एक अधिकारीका अनुसार घटना सामान्य विवाद हो वा योजनाबद्ध आपराधिक गतिविधि हो भन्नेबारे दुवै कोणबाट अनुसन्धान भइरहेको छ ।
घटनापछि स्थानीय व्यवसायी र बासिन्दाहरूले भैरहवाको पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै रातको समयमा निगरानी बढाउन प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।















