काठमाडौं —
यतिबेला नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने विषयमा बहस चर्किएको छ। महामन्त्री गगन थापाले नियमित महाधिवेशनको कार्यतालिका समेत पेस गरिसकेका छन्।
फागुन २१ गते प्रतिनिधिसभाको चुनाव नजिकिँदै गएकाले फागुनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले दबाब बढाइरहेका छन् भने कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूह बैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा देखिएको छ।
यतिबेला कांग्रेसभित्र महाधिवेशनको बहस पेचिलो बनिरहेको छ। तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले महाधिवेशनबारे ठूलो समस्या नरहेको बताउँछन्।
उनले निर्वाचनअघि विशेष महाधिवेशन भए पनि निर्वाचनपछि भने नियमित महाधिवेशन हुने बताए। उनले १५औं महाधिवेशन निर्वाचनपछि गर्ने पनि जानकारी दिए।
उनले ‘जेनजी आन्दोलनपछि नयाँ आशा पलाएको’ बताउँदै नीति, नेता र कार्यक्रमका हिसाबले नयाँ कांग्रेस आगामी चुनावमा लिएर जान चाहेकाले महाधिवेशन जरुरी रहेको उल्लेख गरे। उनका अनुसार अहिले नियमित महाधिवेशन गर्न समयका हिसाबले सम्भव नभएकाले हाल विशेष महाधिवेशनको तयारी गर्नुपर्ने अवस्था आएको हो।
‘महाधिवेशनबारे चाँडै टुंगो लाग्छ। किनभने धेरै समय छैन, समस्या पनि धेरै छैन। निर्वाचनअघि विशेष महाधिवेशन हुन्छ, निर्वाचनपछि भने नियमित महाधिवेशन हुन्छ। दुईवटै महाधिवेशन हुन्छ। १५औं महाधिवेशन चुनावपछि गर्छौं र त्यो नियमित अधिवेशनमा हुनेछ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नयाँ आशा सञ्चार भएको छ, त्यसलाई कांग्रेस सम्बोधन गर्न चाहन्छ,’ उनले भने।
‘नीति, नेता र कार्यक्रमका हिसाबले पनि नयाँ कांग्रेस चुनावमा लिएर जान चाहन्छौँ। त्यसका लागि महाधिवेशन जरुरी भयो। नियमित गर्न समय सम्भव नभएकाले विशेष गर्न लागिएको हो। नियमित भने चुनावपछि हुन्छ,’ उनले थपे।
महाधिवेशनका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताउँदै उनले विशेष महाधिवेशनको तयारी पनि आगामी निर्वाचनकै लागि गरिएको स्पष्ट पारे। उनका अनुसार विशेष महाधिवेशन नै निर्वाचनको तयारी हो र यसबारे निर्णय केन्द्रीय समितिको बैठकले लिनेछ।
त्यसैगरी उनले विशेष महाधिवेशनमा नयाँ पुस्तालाई भव्य रूपमा स्वागत गर्ने दाबी गरे। उनले भने, ‘विशेष महाधिवेशनमा जेनजी पुस्ता वा नयाँ पुस्तालाई भित्र्याउने नीति पनि पारित हुनेछ र उनीहरूलाई नेतृत्वमा ल्याउन हामी तयार छौं।’
त्यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले अहिले बहुमत संख्यामा महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरिरहेका कारण जतिसक्दो छिटो महाधिवेशन गरिसक्नुपर्ने बताए।
‘यदि अहिलेको कार्यसमितिले महाधिवेशन गर्न नसक्ने हो भने आफू विदा लिएर मार्ग प्रशस्त गर्नका लागि आग्रह गर्दछु,’ उनले भने। श्रेष्ठका अनुसार विशेष महाधिवेशनलाई नकार्ने अधिकार अहिलेको केन्द्रीय समितिलाई छैन।
‘वास्तवमा जतिसक्दो छिटो अधिवेशन हुनु जरुरी छ। महाधिवेशन हुनुपर्छ — विशेष वा नियमित जे भए पनि। मंसिरभित्रै अधिवेशन होस् भन्ने चाहना हो। त्यो यदि हुन सकेन भने अहिले बहुमत संख्याका प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरिसकेका छन्, त्यसकारण जतिसक्दो छिटो महाधिवेशन होस्,’ उनले भने।
त्यस्तै, नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले अहिलेको समयमा महाधिवेशन अनिवार्य रहेको बताए। उनका अनुसार ‘जेनजी आन्दोलनपछि नयाँ सोच र नयाँ नीति आउनपर्छ’ भन्ने सन्देश फैलिएकाले पनि अहिले त्यसै सन्देशको पक्षमा आफू उभिएको हो।
‘अब सच्चिएर र सुधारिएर, नयाँ नीति अथवा जनतालाई पच्ने नीति लिएर आउनुपर्छ भन्ने सन्देशमा हामी साथ छौं। यो महाधिवेशन अनिवार्य छ। जेनजी प्रोटेस्टले माग गरेको नयाँ नेतृत्व हो,’ उनले भने।
त्यस्तै, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले जेनजीको नाममा भएको आन्दोलन वास्तवमा आगामी चुनावमा निर्णायक बन्ने जेन–अल्फा मतदातासँग पनि सम्बन्धित रहेको बताए।
‘अहिले पनि कांग्रेसमा प्रशस्त युवाहरू जोडिएका छन् र थप जोड्न चाहन्छन्। विशेष अधिवेशनले पनि विशेष व्यवस्था गर्न सक्छ। अहिले विषम परिस्थितिमा विशेष अधिवेशन आवश्यक छ। केन्द्रीय नेतृत्व जिम्मेवार नभए फेरि विशेष अधिवेशनमा जानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।
‘अहिले जुन जेनेरेसन छ, जेनजीको नाममा आन्दोलन भएको छ, त्यसबाट जेन अल्फा मतदाता भएर आउँदैछन्। स्वाभाविक रूपमा प्रकृतिको नियम बुझ्नुपर्छ,’ उनले थपे।
नेपाल लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईंले अहिले पार्टी र देशमा परिवर्तन आवश्यक रहेको र पुनर्जागरण एवम् पुनर्संरचना चाहिएकाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए।
‘विशेष र नियमित महाधिवेशनका कुराहरू चलिरहेका छन्। खासमा अहिले परिवर्तन चाहिएको हो। यो कुन पक्षमा भन्ने भन्दा पनि अहिले महाधिवेशन चाहिएको हो। पार्टीभित्र पुनर्जागरण र पुनर्संरचना आवश्यक छ। पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्छ। आम कार्यकर्ताहरूको भावनाअनुसार तलदेखि माथिसम्म परिवर्तन हुन जरुरी छ,’ उनले भने।
त्यस्तै, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रेणुका काउचा मगरले परिवर्तनका लागि भए पनि महाधिवेशन हुनैपर्ने बताइन्। उनले नेपाल सरकारले निर्वाचनको मिति तोकेकाले पनि समयमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिइन्।















